ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उडान नियमसम्बन्धी विपरित कार्य गरेकाले छानबिनका लागि केही समयका लागि लामाको उडान स्थगन गरिएको जानकारी दिए ।

‘उडान नियमसम्बन्धी विपरित कार्य गरेकाले उहाँमाथि छानबिन हुँदैछ । त्यसैले लागि केही समय उहाँलाई उडानको रोष्टरबाट हटाइएको छ’ उनले भने ।

केही दिनअघि पाइलट लामाले आकाशमै चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति नभएको ककपिटमा प्रवेश गराएर भिडियो अन्तर्वार्ता दिएको सार्वजनिक भएको थियो ।

एभिएसन भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक उडानमा ककपिटबाटै पाइलट लामासँग अन्तर्वार्ता लिएको भिडियो सार्वजनिक गरेका थिए । दुबईबाट काठमाडौं उडानका क्रममा उनले वायुसेवा निगमको ए३३० विमानमा क्याप्टेन लामासँग कुराकानी गरेका थिए ।

कारण स्पष्ट पारी नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्ने व्यवस्था रहेको छ ।

छानबिनको प्रतिवेदन आएपछि त्यसकै आधारमा क्यान अघि बढ्ने निरौलाको भनाइ छ ।


क्लिकमान्डु