नयाँ स्टक र ब्रोकर लाइसेन्स सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’



काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनको लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन माग गर्दै सर्वोच्चमा परेको रिट निवेदनमा आज बहस हुन नसकेको हो ।

आज (मंगलबार) उक्त मुद्दाको पेसी न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलाशमा तोकिएको थियो । तर मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

यसअघि कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन कारण देखाउ अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

असोज ३१ गते अधिवक्ता दिपक बिक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रकृया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन दिने समय सकिएको छ । नयाँ ब्रोकर खोल्न नयाँ ४५ र पुरानो एक सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् । नयाँ ब्रोकर र वस्तु विनिमय बजार सञ्चालनका लागि कुनै पनि आवेदन परेको छैन । अदालतले यसअघि कारण देखाउ अल्पकालिन अन्तरिम आदेश दिएपछि बोर्डले यो प्रकृया स्थगन गरेको छ ।


क्लिकमान्डु