म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणको लागि ५ बैंकबीच ८ अर्ब रुपैयाँ लगानी सम्झौता



काठमाडौं । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार काठमाडौंका एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको छ ।

आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मिटर प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवद्र्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले नविकरणीय उर्जाको दिगो विकासमा आफू प्रतिवद्ध रहेको बताए । उनले आयोजनाको निर्माण निर्धारित समयभित्र नै सम्पन्न गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

त्यस्तै,उर्जा डेभलपर्स प्रालिका अध्यक्ष विजयबहादुर राजभण्डारीले उर्जा क्षेत्रको विकास गर्ने रणनीतिक एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताए । उनले देश विकासमा हाइड्रो पावरको भुमिका आफ्नो पनि सहकार्य जनाउनको लागि काम गरिरहेको बताए । उनले उर्जा डेभलपर्सले न्युनतम समय एवं प्रतिष्पर्धी मूल्यमा उच्च गुणस्तरीय कार्यहरु गरी आयोजना सम्पन्न गरिसकिएको स्मरण गरे । उनले आन्तिरक तथा क्षेत्रिय बजार अध्ययन गरी अगामी दिनमा विभिन्न मोडलका जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गरिने पनि बताए ।

त्यस्तै सम्झौता कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत आयोजना निर्माणको समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताए । उनले विगत केही समयदेखि विश्वव्यापीरुपमा नै सिर्जना भएको तरलता अभावका कारण बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको बताए ।

उनले बजारमा लरलता अभाव भनिए पनि तरलता अभाव नभएको भन्दै अभाव भएको भए बैंक बन्द हुने अवस्था आउने बताए । उनले बैंकहरुमा तरलता संकट नभएर लगानीयोग्य रकमको अभाव भएको बताए । अध्यक्ष उपध्यायले अहिलेको अवस्था हेर्दा कम्पनीको लागत ४ रुपैयाँसम्म बढेको बताए । उहाँले आर्थिक मन्दीका बाबजुद आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए । उनले देशको आर्थिक संवृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा म्याग्दी खोला जलविद्युत आयोजनासँग आवद्ध हुन पाउँदा गर्व महशुस भएको बताए ।

माग्दी खोला जलविद्युत आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ ।

आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ ।

आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ । आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु