नेपाल पुनर्बीमा कम्पनीलाई स्वदेशमा मात्रै केन्द्रित नहुन अध्यक्ष सिलवालको निर्देशन



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीलाई स्वदेशमा मात्रै केन्द्रित नहुन निर्देशन दिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीलाई कम्पनीको ९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले स्वदेशको व्यवसायमा मात्र केन्द्रित नभई विदेशी मुलुकबाट पनि व्यापार ल्याउन आग्रह गरेका हुन् ।

‘पुनर्बीमा कम्पनीले विदेशी मुलुकबाट पनि व्यवसाय ल्याउनुपर्छ,’ अध्यक्ष सिलवालले भने, ‘विदेशी बीमा कम्पनीहरुबाट पनि बिजनेश ल्याइ नेपालमा विदेशी मुद्रा भित्र्याउनुपर्छ।’

उनले ८ वर्षको अवधिमा नेपाल पुनर्बीमा कम्पनीले गरेको योगदान महत्वपूर्ण रहेको बताए । ‘नेपालको बीमा बजारमा नेपाल पुनर्बीमा कम्पनीले गरेको योगदान महत्वपूर्ण छ । अझै पनि यसले आउने दिनहरुमा प्रतिस्पर्धी कम्पनीको रुपमा बजारमा पुनर्बीमा कम्पनीको सेवा प्रवाह गर्नुपर्छ,’ सिलवालले भने ।

नेपालमा सरकारी लगानी भएका बीमा कम्पनीहरुले व्यवसाय गर्न नसकेकै कारण प्रतिस्पर्धीको रुपमा निजी लगानीका कम्पनीहरु स्थापना हुन पुगेका उनले बताए ।

‘सरकारले धेरै व्यवसाय गर्दैन । व्यवसाय भनेको निजी क्षेत्रको विज्ञताले गर्ने हो,’ सिलवालले थपे, ‘हामीले कता कता आरक्षण खोजिरहेको देखिन्छ । तर, सरकारले व्यवसाय दिने होईन व्यवसाय गर्ने बटोमात्रै बनाईदिने हो ।’ उनले आगामी दिनमा पुनर्बीमा कम्पनीहरुलाई दिईदै आएको व्यवसाय शून्यमा झर्ने समेत बताए ।

अझै पनि बीमाले उत्कृष्ट स्थान पाउन नकसकेको सिलवालको भनाइ छ । ‘व्यवसायले धेरै कुराको डिमाण्ड गर्छ । बाटो हामीले बनाईदिने हो । व्यवसाय आफ्नो क्षमता र सिपले गर्ने हो ’ उनले भने ।

यस्तै, उनले नेपाली बीमा बजारका लागि बीमा कम्पनीहरुको संख्या कति हुनुपर्ने हो सोको अध्ययन गरिने बताए । नेपालको बजारमा कतिवटा बीमा कम्पनीको आवश्यकता हो त्यसको अध्ययन गरिने उनले बताए ।

कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बजारमा निजी क्षेत्रको पुनर्बीमा कम्पनी स्थापना गरेर सरकारले व्यवसाय खासेको आरोप लागए ।

उनले बजारमा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुँदा ५ अर्ब रुपैयाँको बिजनेश घट्न सक्ने बताए । ‘चालु आवमा ५ अर्ब रुपैयाको व्यवसाय गछौं, तर हाम्रो टार्गेट भनेको १२ अर्ब ७५ करोड रुपैयाँको थियो,’ रायमाझाीले भने, ‘त्यसमा बीमा समिति र सरकारकै तर्फबाट सहयोग भएन ।’

कार्यक्रममा जीवन बीमा संघका कोषाध्यक्ष प्रविणरमण पराजुलीले पुनर्बीमा कम्पनीको संस्थागत क्षमता वृद्धि गनुपर्ने आवश्यकता देखिएको आशय प्रकट गरे । ‘सुधारका कुरा धेरै छन्,’ उनले भने, ‘व्यापार भन्दा पनि क्षमता विस्तारमा सुधार गर्नुपर्छ ।’


क्लिकमान्डु