ब्याजदर नघटाए देशव्यापी चरणबद्ध आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी



काठमाडौं । यातायात व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ब्याजदर घटाउन आग्रह गरेका छन् ।

कोभिड–१९ महामारीको असर विभिन्न व्यापार व्यवसायमा देखिएको मन्दीसँगै नेपाली व्यापार र व्यवसाय हालसम्म पनि थला परि तरलता अभावको समस्या खेप्नु परिरहेको वर्तमान अवस्थामा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको ब्याजदरमा वृद्धि ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ गरिएको व्यवस्थाप्रति तीनवटै संस्थाले बिरोध जनाएका छन् ।

‘अस्वाभाविक रुपमा गरिएको ब्याजदर वृद्धिसँगै संशोधित कर्जा नीतिलाई संशोधन गरी एकल बिन्दुमा ब्याजदर कायम गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत सम्बद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आम निजी क्षेत्रले गर्दै आएको बिरोधका कार्यक्रमहरुमा ऐक्यबद्धता जनाउँदै देशव्यापी रुपमा चरणबद्ध आन्दोलनमा कार्यक्रम गर्दै जान बाध्य हुनेछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको यातायात व्यवसाय र ढुवानी व्यवसाय पनि उद्योग व्यवसायसँग अन्यार्योश्रित सम्बन्ध भएको व्यवसाय भएका कारण हाल देशव्यापी रुपमा रहेको तरलता अभावका कारण उद्योग व्यापार व्यवसाय मन्दीमा गएको छ ।

व्यवसायलाई राहत सुविधा दिएर व्यवस्थापन गर्नुपर्ने ठाउँमा झनै आहात पुग्ने गरी एक पक्षीय ढङ्गले बैंक तथा वित्तीय संस्थाहरुबाट अनुचित रुपमा गरिएको ब्याजदर वृद्धि र संशोधित कर्जा नितिका कारण सार्वजनिक यातायात, मालवाहक यातायात र ढुवानी व्यवसायीहरु पीडित हुनुपर्ने र समान्य किसिमले मात्र सञ्चालनमा रहेको व्यवसाय अत्यन्त जटिल अवस्थामा पुगि बन्द नै गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको व्यवसायीहरुको भनाइ छ ।


क्लिकमान्डु