प्रचण्डलाई उम्मेदवार हुनबाट रोक्न माग गर्दै सर्वोच्चमा रिट पेस, दर्ता होला ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुनबाट रोक्न आदेश माग गरिएको छ ।आरण द्वन्द्व पीडित हुन् । उनले माओवादी द्वन्द्वका क्रममा बुवा गुमाएका थिए।

आइतबार सर्वोच्चमा पेस भएको रिट निवेदन दर्ता भने भएको छैन । सर्वोच्च प्रशासनले रिटबारे अध्ययन भइरहेको जनाएको छ।

सर्वोच्चमा पेस गरिएको रिटमा प्रचण्डले १० वर्षसम्म चलेको द्वन्द्वमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने जिकिर गरिएको छ । कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने व्यक्ति जनताको प्रतिनिधि हुन नमिल्ने रिटमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल रिटबारे अध्ययन भइरहेको बताए । अध्ययनपछि रिट दर्ता वा दरपिठ के गर्ने निर्णय हुने उनको भनाइ छ ।


क्लिकमान्डु