अमेरिकामा पढेर चीनका होटलमा म्यानेजर, विराटनगरमा ५० करोडको लगानीमा गाई फर्म
विराटनगर । गजेन्द्र शर्मा बन्जारा एग्रो फर्म एण्ड इन्ड्रस्टिजमा भेटिए । भारतको सीमा नजिकै पर्ने विराटनगर-१२ दरैयाबस्तीमा रहेको उक्त फर्मका मुख्य सञ्चालक हुन्, उनी । फर्मको वरिपरि धानबाली र तरकारी खेती छ । केही पर वस्ती पनि छ । यहाँ विशेषत तराईमूलका मानिसहरूको बसोबास छ । फर्मको पूर्वपट्टी पुरानो औद्योगिक क्षेत्र पनि छ । जसलाई मिल्स एरिया भनेर चिनिन्छ ।
देशमा कोरोना महामारी भएको समयमा बन्जारा एग्रो फर्म एण्ड इन्ड्रस्टिज खुलेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दुध अपुग भयो भनेर आफ्ना दुधजन्य उत्पादन मनिर नौनी बन्द गरेको छ । दुधको यस्तो अभावको अवस्थामा बन्जार एग्रो फर्मले विराटनगरको केही माग धान्ने प्रयास गरेको छ ।
चीनमा जागिर, नेपालमा गाई फर्म
फर्ममा शर्मालाई नियमित भेट्न पाइँदैन । सञ्चालक शर्मा बेला बेलामा मात्र नेपाल आउँछन् र फर्ममा पुग्छन् । उनको घर नजिकै फर्म रहेको छ । घर नजिकै फर्म सञ्चालनमा ल्याएका शर्मा भने चीनमा काम गर्छन् ।
चीनको राजधानी बेइजिङमा दुई ठूला होटल हिल्टन र कोन्ड्राटडका जनरल मेनेजर हुन् , उनी । चीनमा काम गर्न जानुअघि उनले अमेरिका र स्वीट्जरल्याण्डमा होटल व्यवस्थापन सम्बन्धी अध्ययन गरेका थिए । ‘चीनमा बस्दै गर्दा स्वेदशमा नै केही गर्ने मनस्थित बनाएँ र त्यस अनुसारको काम गरें’ उनले भने ।
उनी चीनमा बस्दै आएपछि फर्मको रेखदेख भने उनका भाइ अमृत बन्जारालगायत तथा परिवारका अन्य सदस्यहरूले गर्ने गरेका छन् । अहिले १ सय ५ वटा गाई रहेको फर्ममा ३२ करोड रूपैयाँ लगानी भइसकेको शर्माले बताए । ५० करोड रूपैयाँ लगानी पुर्याउने लक्ष्यसहित काम भइरहेको उनी बताउँछन् ।
फर्ममा साढे ५ करोड सरकारी अनुदान र बैंक कर्जा रहेको छ भने बाँकी स्वपुँजी रहेको उनले बताए । फार्ममा ३२ जना कामदारले रोजगारी पाएका छन् ।
रोजगारीका क्रममा चीनमा रहेका उनले राजधानी बेइजिङभन्दा बाहिर ग्रामीण बस्तीमा ठूलठूला गाई फार्म र तरकारी तथा फलफूल खेती देखे । यस्ता फर्महरुमा कसरी काम हुन्छ भन्नेबारे उनले थाहा पाए । त्यसछि उनमा नेपालमा पनि त्यस्तै खालको कृषि कर्म गर्ने हुटहुटी जाग्यो ।
‘बेइजिङ बाहिरका गाउँका बस्तीमा ठूलाठूला गाई फर्म, तरकारी र फलफूल खेती गरिएको थियो । त्यस्तै गरि नेपालमा पनि कृषि गर्न सकिन्छ भन्ने लाग्यो’ शर्माले भने, ‘त्यही हुटहुटीले बन्जारा एग्रो एण्ड इन्ड्रस्टिजको जन्म गरायो ।’
चीनमा जस्तै शर्माले गाई पालनसँग सँगै तरकारी खेतीको पनि गरिरहेका छन् ।
आधुनिक तरिकाबाट दुधजन्य उत्पादनको बिक्री वितरण मुख्य उदेश्य रहेको उनले बताए । उनको फर्ममा ‘मेकानाइजेशन’ र ‘अटोमेशन’ का आधारमा काम हुने गरेको छ । धेरै काम मेसिनले निर्धारण गर्दछ ।
गाईको सम्पूर्ण अवस्था पत्ता लगाउन पेडोमिटर जडान गरिन्छ । त्यसमा भएको सेन्सरले गाई बिरामी, ब्याउने वा एआई गर्ने अवस्थाबारे सूचना दिने उनले बताए ।
जसलाई अटोमेशन भनिन्छ । गाई बिरामी भए इन्ड्रष्टिजमा रहेका चिकित्सकले उपचार गर्छन् । उनकाअनुसार गाई व्याएको ७५ दिनभित्र एआई हुनु पर्दछ ।
दुध उत्पादन र बजार
इन्ड्रष्टिजमा रहेका १ सय ५ वटा गाई मध्ये ५६ वटाले मात्र अहिले दुध दिन्छन् । अहिले दैनिक १ हजार लिटर दुध दुहुने गरिएको शर्माले जानकारी दिए ।
‘अहिले उत्पादन भइरहेको दुध स्थानीय बजारमा नै खपत हुन्छ’ उनले भने । विराटनगर ५ चाँदनी चोकमा एउटा डेरी पसल खोलेर सञ्चालनमा ल्याइएको र त्यहाँबाट पनि बिक्री वितरण भइरहेको उनले बताए ।
दुध प्रतिलिटर ८० रूपैयाँमा बेच्ने गरिएको शर्माले जानकारी दिए । जबकि बजारमा सामान्य किसिमको दूध ८५ देखि ९० प्रतिलिटर किनबेच हुन्छ । दुग्ध विकास संस्थानको क्रिम ननिकालिएको दूध सय रूपैयाँभन्दा बढी मूल्य पर्दछ ।
कुन जातका र कहाँबाट ल्याइन्छ गाई ?
एग्रो एण्ड इन्ड्रस्टिजका गाई होलस्टेन जर्सी जातका हुन् । एउटा गाईको खरिद मूल्य अढाइ लाख रूपैयाँ परेको उनले बताए । यो रकम गाई खरिददेखि ढुवानी खर्चसम्मको हो । भारतको हरियाणा र पञ्जावबाट ल्याइएका यी गाईलाई मौसम अनुसारको व्यवहार गर्नुपर्ने शर्माले बताए ।
गर्मी महिनामा गाई ल्याउँदा समस्या हुने उनी बताउँछन् । शुरुमा गर्मी महिनामा ल्याइएका मध्ये केही गाई मरेको भन्दै उनले अब गाई ल्याउने समय भएको बताए ।
फर्ममा गाई बाँधेर राखिएका छैनन् । घाँस खाने डुँढ बनाइएएको छैन । गर्मी कम गर्न अग्लो टहरको सिलिङमा पंखा राखिएको छ । भुँइमा सिमेन्ट लगाइएको छ । तर, बीच भागमा बाटोमात्र भएको क्षेत्र पनि छ । जहाँ गाई बस्दा बढी आराम र गर्मी समयमा चिसो महसुस हुन्छ । फारम गाईको रेखदेखमा गजेन्द्रका भाइ अमृत, धर्मेन्द्र, दाइ राजेन्द्र र भान्जा सञ्जय पनि उत्तिकै खटिएका हुन्छन् ।
गाई फर्मको पूर्वतर्फ तरकारी उत्पादनका लागि टनेल निर्माण गरिएको छ । अहिले टनेलभित्र काक्रो उत्पादन भइरहेको छ । त्यस्तै गोलभेंडा, बोडी, सिबी लगाइएको छ ।
यस्ता गाईबाट प्रतिदिन न्यूनतम १५ देखि बढीमा ३८ लिटर दुध दुहुन मिल्ने उनले बताए । कुनै गाई दिनमा तीनपटक त कुनै गाई दुईपटक दुहुने किसिमका रहेको शर्माले जानकारी दिए ।
सन् २०२३ मार्चसम्ममा फर्ममा २ सयवटा गाई पुर्याउने लक्ष्य रहेको सञ्चालक शर्माले बताए । उनकाअनुसार त्यति गाईबाट दैनिक १५ सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ ।
दुधबाट पनिर, घिउ र चिज पनि उत्पादन गर्ने सोच छ । त्यसका लागि दुध उत्पादन बढाउन आवश्यक हुन्छ । यो गर्न धेरै जनशक्ति आवश्यक पर्ने उनले बताए । त्यसैले जनशक्तिको ठाउँमा आधुनिक उच्च प्रविधिको प्रयोग गर्ने योजना इन्ड्रष्टिजको रहेको छ । अहिलेको गाई पालन इजरायली प्रविधिको संरचनामा आधारित रहेको शर्माले बताए ।
यस्ता गाइले १२ महिनानै दुध दिने भए पनि पूरै समय दुहुन नहुने उनको भनाइ छ । ‘१२ महिना नै यस्ता गाईले दुध दिन्छन् तर तीन महिना बाँकी छदै दुध दुहुन छाड्नु पर्छ’ उनले भने, ‘यसोगर्दा गाईले आराम गर्ने समय पाउँछ र दोस्रो पटक ब्याएपछि पनि पहिलो बेतको जस्तै दुध दिन सक्छ ।’
यहाँका गाईलाई मकैको कलिलो घाँसबाट बनाइएको साइलेज खुवाइन्छ । साइलेजको अलवा हरियो घाँस पनि खुवाइन्छ । हरियो घाँसको बिउ अष्ट्रेलियाबाट ल्याइएको शर्माले जानकारी दिए ।
अष्ट्रेलियाबाट ल्याइएका घाँसका ती बिउ रेड नेपियर र सुपर नेपियर गरी दुई जातका छन् । गुणस्तरीय बिउ भएकाले घाँस उत्पादन पनि प्रशस्त हुने उनी बताउँछन् ।
घाँस उत्पादनका लागि साढे ४ बिघा जग्गा भाडामा लिइएको छ । भाडाको जग्गा प्रतिबिघा वर्षको ५० हजार रूपैयाँ तिर्नु पर्ने उनले बताए । आफ्नो स्वामित्वमा ५ बिघा जग्गा रहेको र त्यो जग्गा पनि फर्म सञ्चालनका लागि ६ करोड रुपैयाँमा खरिद गरिएको उनले बताए । फर्म र कृषि उत्पादनका लागि ३० बिघा जग्गा आवश्यक पर्ने सञ्चालक शर्माको अनुमान छ ।
सञ्चालनको २ वर्ष पुग्नै लागे पनि नाफा भने कमाउन नसकिएको शर्माको दाबी छ । ‘अहिले मासिक १२ लाख रुपैयाँ नोक्सानी छ’ उनले भने, ‘पहिलो २ वर्ष फर्म घाटामा सञ्चालन हुन सक्छ भन्ने अनुमान गरिएको थियो ।’
तर, अहिले बैंकको ब्याजदर बढ्दा थप समस्याभएको उनले बताए । ‘साढे ६ प्रतिशतमा कर्जा लिएकोमा अहिले बढेर १५ प्रतिशत पुगेको छ । दैनिक १ हजार ५ सय लिटरभन्दा बढी दूध उत्पादन गर्न सके अवश्य घाटापूर्ति हुन्छ’ शर्माले क्लिकमाण्डूसँग भने ।
आगामी योजना
खर्च घटाउनका लागि विविध उपाय अपनाउने तयारी शर्माको छ । त्यसका लागि ब्रिडिङ(नस्ल) फर्ममा उत्पादन योजना शुरु भएको उनले बताए । अहिले यही नस्ल सुधारबाट दुईवटा बाच्छी जन्मिएका छन् । यसलाई ठूलो मात्रामा गर्ने गरि काम भइरहेको छ । जसले गर्दा स्वदेशमै गाई उत्पादन गर्न मद्दत पुग्ने शर्मा बताउँछन् ।
त्यस्तै गाई खरिद गर्ने रकम वचत हुन्छ भने अर्को त्यसरी उत्पादित गाई बेचेर पनि आम्दानी लिन सकिने दीर्घकालीन योजना छ ।
पोखरामा सरकारी गाईको नस्ल उत्पादन केन्द्र सञ्चालनमा रहे पनि त्यसले भरपर्दो काम नगरेको शर्माको भनाइ छ । पोखरामा उत्पादित नस्ल उच्च गुणस्तरको नभएकाले हरियाणाबाट गाई खरिद गर्नु परेको शर्माले बताए ।