११ बैंकले ग्राहकसँग नियमविपरित असूल गरेको पौने २ अर्ब फिर्ता गर्न थाले



काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरुले ग्राहकसँग नियमविपरित असूल गरेको प्रिमियम फिर्ता गर्न थालेका छन् । नियामक नेपाल राष्ट्र बैंकको कडा निर्देशनपछि ११ बैंकले फिर्ता गर्न थालेका हुन् ।

‘राष्ट्र बैंकले नियमविपरित ग्राहकसँग असूल गरेको प्रिमियम फिर्ता गरेपछि मात्रै गत वर्षको वित्तीय विवरण स्वीकृति गर्ने पूर्वशर्त राखेपछि ११ बैंकले यस्तो रकम फिर्ता गर्न थालेका छन्,’ नियमन विभागका कार्यकारी निर्देशकसमेत रहेका राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूसँग भने ।

बैंकहरुले फिर्ता गर्नुपर्ने यस्तो रकम झन्डै ४ अर्ब रुपैयाँ बढी हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘११ बैंकले पौने २ अर्ब रुपैयाँ फिर्ता गर्न थालिसकेको जानकारी गराएका छन्,’ भट्टले भने, ‘बाँकी रकम पनि बैंकहरुले पनि एकदुई हप्ताभित्रै फिर्ता गर्न शुरु गर्छन् ।’

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि ब्याजदर बढेको भन्दै अधिकांश बैंकहरुले नियमविपरित ऋणीसँग प्रिमियम असूल गरेका थिए । बैंकहरुले बढेको आधार दर अनुसार ब्याजदर बढाउनुपर्नेमा नियमविपरित सम्झौता गरेभन्दा बढी प्रिमियम असूलेर ऋणीलाई ठगेका थिए ।

नियममा के छ ?

यस विषयमा गत बैशाख २७ गते क्लिकमाण्डूले समाचार सम्प्रेशण गरेको थियो ।

बैंकहरूले प्रवाह भइसकेको आवधिक कर्जामा बेस रेटमा हुने फेरबदलको आधारमा मात्रै ब्याजदर घटबढ गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नाफा कमाउने ध्याउन्नमा बैंकहरुले उक्त नियमको उल्लंघन गर्दै प्रिमियम बढाएका थिए ।

आवधिक कर्जाबाहेकका अन्य कर्जाहरुमा भने नवीकरण गर्दा बैंकहरुले प्रिमियम दर पनि नयाँ कायम गर्न सक्ने व्यवस्था छ । यस्तो प्रिमियम पनि अधिकतम ५ प्रतिशत मात्रै लिन पाइन्छ । तर, केही बैंकले ८ प्रतिशतसम्म प्रिमियम असूल गरेको अर्थमन्त्रालयले गठन गरेको प्रतिवेदनमा उल्लेख छ ।

बैंकहरुले नियमबिपरित प्रिमियम बढाउँदा ऋणीहरु मारमा परेका थिए । उद्योगी व्यवसायीका विभिन्न संगठनहरुले व्यापक गुनासो गर्दै आएका थिए । राष्ट्र बैंकले छानविन गर्दा पनि धेरै बैंकले बढी प्रिमियम असूल गरेको भेटिएपछि फिर्ता गर्न कडा निर्देशन दिएको थियो ।

‘बैंकहरु संयमित नहुँदा राष्ट्र बैंकले डण्डा चलाउनु परेको हो,’ एक बैंकरले भने ।


क्लिकमान्डु