भैरहवाबाट विदेश जाने यात्रुलाई काठमाडौं-भैरहवा उडानमा टिकट सस्तो
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्ने यात्रुलाई काठमाडौं-भैरहवा उडानको टिकट सस्तो मूल्यमा दिइने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीसँग गरेको छलफलमा भैरहवाबाट विदेश जाने र फर्किने यात्रुलाई काठमाडौं-भैरहवा सेक्टरमा सस्तो मूल्यको टिकट दिने सहमति भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भैरहवाबाट विदेश जाने र आउने यात्रुले काठमाडौं भैरहवा र भैरहवा-काठमाडौं सेक्टरमा जुनसुकै समयमा टिकट बुक गर्दा सस्तो मूल्यको टिकट दिन वायु सेवा कम्पनीहरुले सहमति जनाएका छन् ।
जुन सुकै समयमा सस्तो मूल्यमा टिकट लिन यात्रुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने र भैरहवामा विदेशबाट उडेर आएको प्रमाण पेस गर्नु पर्नेछ ।
‘प्राय अन्तिम अवस्थामा टिकट खरिद गर्दा महँगो मूल्य तिर्नु पर्छ,’ निरौलाले भने,‘भैरहवाबाट विदेश जाने यात्रुलाई सहज होस् भनेर अन्तिम समयमा टिकट किन्ने यात्रुलाई समेत सबैभन्दा सस्तो मूल्यमा टिकट दिने व्यवस्था गरिएको हो ।’
प्राधिकरणले आन्तरिक वायु सेवा कम्पनीले चाहेमा २४ घण्टा नै आन्तरिक उडान गर्न दिने तयारी गरेको छ ।
हाल राति १२ बजेसम्म आन्तरिक उडान हुने गरेको छ ।
‘वायुसेवा कम्पनीले २४ घण्टानै विमान उपयोग गर्न सकुन् भनेर हामीले आवश्यक भएको ठाउँमा २४ घण्टा नै आन्तरिक उडान गर्न दिने योजना बनाएका छौं,’ निरौलाले भने,‘वायु सेवा कम्पनी र विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुनुपर्छ भन्ने हाम्रो चाहना हो ।’
भैरहवाबाट बिभिन्न शहरमा उडान हुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीलाई भैरहवाबाट विभिन्न क्षेत्रमा उडान गर्ने गरि तालिका बनाउन निर्देशन दिएको छ ।
प्रवक्ता निरौलाकाअनुसार भैरहवाबाट विभिन्न शहरमा उडान शुरु गर्न वायु सेवा कम्पनीहरु सकारात्मक देखिएका छन् ।
बुद्ध एयरका निर्देशक रुपेश जोशीले भैरहवाबाट विभिन्न स्थानमा उडान गर्न आफूहरु सकारात्मक भएको बताए ।
बिहीबार वायु सेवा कम्पनीसँग छलफल हुँदै
प्राधिकरणले बिहीबार आन्तरिक उडान गर्ने वायु सेवा कम्पनी र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाइरहेका कम्पनीसँग संयुक्त छलफल गर्ने भएको छ ।
कुन वायु सेवा कम्पनीबाट विदेश उडान गर्ने यात्रुलाई कुन आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीले बोक्ने भन्ने विषय टुंगो लगाउन प्राधिकरणले छलफल गर्न लागेको हो ।
‘उडान कसरी गर्ने भन्ने विषयमा वायु सेवा कम्पनीले व्यवसायीक निर्णय गर्नु हुन्छ,’ निरौलाले भने,‘हामीले सहजीकरण गर्न छलफल गर्न लागेका हौं ।’