एमालेको घोषणापत्रः सेयर लगानीकर्ताको मनोबल खस्केर बजार घट्यो, एमालेले जितेपछि बजारको अस्तव्यस्त हट्छ



काठमाडौं । नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा लगानीकर्ताको मनोबल खस्केर सेयर मूल्य निरन्तर घट्दो क्रममा रहेको र सम्पूर्ण पुँजी बजार अस्तव्यस्त भएको उल्लेख छ ।

घोेषणापत्रमा मंसिर ४ पछि एमालेको सरकार बन्ने र सेयर बजारमा स्थिरता आउनुका साथै अहिलेको अस्तव्यस्तता हट्ने उल्लेख छ ।

देउबा नेतृत्वको वर्तमान गठवन्धन सरकारले आर्थिक क्षेत्रमा अबलम्बन गरेको बेथिति र अराजकताका कारण अधिकांश आर्थिक परिसूचकहरू निराशाजनक तहमा पुगेको उल्लेख छ ।

अर्थतन्त्र अत्यन्त जोखिमपूर्ण अवस्थामा मात्र होइन, सङ्कटको नजिक रहेको, बाह्य क्षेत्रको व्यापार तथा विदेशी मुद्राको आम्दानी र खर्चबिचको असन्तुलन भयावह बनेको, अहिले मूल्यवृद्धि दर यस दशककै सबैभन्दा उच्च भएको उल्लेख छ ।

तस्करी, राजस्व छली, हुन्डी लगायत क्रिप्टो मुद्रा, हाइपर फन्ड, र डिजिटल सम्पत्तिका क्षेत्रमा अवैध लगानी भइरहेको भन्दै सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने र त्यस्तो हर्कत गर्नेलाई नियन्त्रण गर्ने नियामक निकायलाई उल्टै हतोत्साहित गर्ने काम गरिरहेको उल्लेख छ ।

बैंकबाट कर्जाका रूपमा बाहिर गएको रकम निक्षेपका रूपमा बैंकमा अहिले नफर्कने भन्दै घर जग्गा र सेयर बजारको उच्च मूल्यसँगै बैंकिङ् प्रणालीबाट बाहिर गएको रकम बैंकमा फर्कन नसकेको उल्लेख छ । अवैध सम्पत्तिलाई वैध बनाउने सरकारकै कतिपय नीति तथा निर्णयका कारण देश सम्पत्ति शुद्धीकरणको चपेटोमा पर्ने डर रहेको घोषणापत्रमा उल्लेख छ । यो समस्या समाधान हुन मंसिर ४ मा एमालेले जित्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।


क्लिकमान्डु