घरजग्गा कारोबारमा मन्दी आएपछि चीनमा ४५ वर्ष यताकै न्यून आर्थिक वृद्धि



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले चीनको आर्थिक वृद्धिदर ४५ वर्ष यताकै न्यून हुने अनुमान गरेको छ ।

एशिया प्रशान्त क्षेत्रको देशका आर्थिक वृद्धिको अनुमान सार्वजनिक गर्दै आएएमएफले चीनमा सन् १९७७ यताकै न्यून आर्थिक वृद्धि हुने जनाएको छ ।

आईएमएफले प्रकाशित गरेको एशिया प्रशान्त क्षेत्रको रिजनल इकोनमिक आउटलुकमा सन् २०२२ मा चीनको अर्थतन्त्र ३.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

सन् १९७६ मा चीनको आर्थिक वृद्धि १.५७ प्रतिशतले ऋणात्मक थियो । यस्तै, सन् १९८९ चीनको आर्थिक वृद्धिदर ४.२ प्रतिशत र १९९० मा ३.९२ प्रतिशत थियो ।

चीनले लिएको शून्य कोभिड नीति र घरजग्गा कारोबारमा आएको मन्दीले आर्थिक वृद्धिमा गिरावट आएको आईएमएफले जनाएको छ ।

चीनमा एक/दुई जना व्यक्तिलाई कोरोना संक्रमण हुँदासमेत पूर्णलकडान गर्ने गरिएको छ । सन् २०१९ को डिमेम्बरदेखि कयौं पटक ठूला शहरमा लकडाउन गरिएको छ । जसले गर्दा आवतजावतमा कठिनाइ हुनाको साथैं आर्थिक गतिविधिसमेत ठप्प हुने गरेका छन् ।

त्यसैगरी, तरलताको समस्याले घरजग्गाको कारोबार गर्ने कयौं कम्पनीहरु टाँट पल्टेका छन् ।

हाउजिङ विकासकर्जा कम्पनी डुबेकाले निर्माणाधीन घरमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गरेका छैनन् । जसले गर्दा हाउजिङ विकासकर्ता कम्पनीले चालूपुँजीको समस्या सामना गरिरहेको आईएमएफको आउटलुकमा उल्लेख छ ।

चीनमा घर जग्गामा गरेको लगानीको जोखिमयुक्त मान्न थालिएको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा लगानी घटाएका छन् । विगतमा घरजग्गामा लगानी गरेका कयौं बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा परेपछि प्रोभिजन राख्नु परेको छ ।

घर जग्गा कारोबारमा आएको मन्दीले समग्र आर्थिक गतिविधि सुस्त बनाउँदा चीनको समग्र अर्थतन्त्र संकुचनमा पर्न थालेको आईएमएफले जनाएको छ ।

चीनको आर्थिक संकटको असर चीनसँग व्यापार गर्ने अन्य देशका साथै समग्र विश्वमा परिरहेको छ । चीनबाट आयात गर्ने बस्तु तथा सेवाको मूल्य समेत बढिरहेको छ ।


क्लिकमान्डु