सबैभन्दा पवित्र गठबन्धन हाम्रो : भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन् ।

सोमबार गठबन्धनले आयोजना गरेको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए ।

गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने उनको भनाइ थियो ।

अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए ।

उनले वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि दाबी गरे । उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरे ।

अध्यक्ष भट्टराईले विगतका तीतामीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गरे । उनले लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको बताए ।


क्लिकमान्डु