क्यूआर कोड भुक्तानीमा उत्साह, इन्टरनेट र मोबाइल बैंकिङ भने घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा क्यूआर कोडबाट हुने भुक्तानी बढेको छ ।

अघिल्लो महिनाको तुलनामा क्युआर पेमेन्ट, मोबाइल वालेटबाट हुने भुक्तानी बढेको छ भने इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङबाट हुने कारोबार घटेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार भदौसम्ममा क्यूआर कोडबाट १५ अर्ब २८ लाख रुपैयाँ भुक्तानी भएको छ । साउनसम्म १४ अर्ब ८१ करोड ७० लाख रुपैयाँको भुक्तानी भएको थियो । एक महिनाको अवधिमा २१ करोड १० लाख रुपैयाँले बढेको छ ।

यस्तै, भदौमा मोबाइल वालेटबाट हुने कारोबार पनि बढेको छ । साउनमा १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँ मोबाइल वालेटबाट कारोबार भएको थियो । भदौमा १७ करोड १ लाख रुपैयाँले बढेर १७ अर्ब ६३ करोड ५० रुपैयाँको कारोबार भएको थियो ।

यस्तै भदौमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी १ अर्ब ५५ करोड १० लाख रुपैयाँले घटेर १२ अर्ब१९ करोड ३० लाख रुपैयाँमा सिमित भएको छ । साउनमा १३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ इन्टरनेट बैंकिङबाट भुक्तानी भएको थियो ।

यस्तै मोबाइल बैंकिङबाट हुने भुक्तानी पनि साउनको तुलनामा भदौमा घटेको छ । साउनको तुलनामा भदौमा ६ अर्ब ४१ करोड ८० लाख रुपैयाँले घटेको छ । साउनमा १ खर्ब ५२ अर्ब ५५ करोड १० लाख रुपैयाँ भुक्तानी भएकामा भदौमा घटेर १ खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ ।


क्लिकमान्डु