८.६४ प्रतिशतले बढ्यो महंगी, तराईमा सबैभन्दा धेरै



काठमाडौं । भदौं महिनामा मूल्य वृद्धि ८.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ काअनुसार यो वर्षको भदौं महिनामा उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ८.६४ प्रतिशत पुगेको हो ।

गत वर्ष भदौं महिनामा मुद्रास्फीति ३.४९ प्रतिशत थियो । राष्ट्र बैंककाअनुसार पछिल्ला दुई महिनामा देशमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ८.१७ प्रतिशत भएको छ । त्यस्तै, यहि अवधिमा गैर–खाद्य तथा सेवा क्षेत्रमा पनि २ प्रतिशतको मूल्य वृद्धि भएको छ । गत वर्षको भदौं महिनामा खाद्य तथा पेय पदार्थमा २.५७ र गैर–खाद्य तथा सेवा क्षेत्रमा ४.२२ प्रतिशतको मूल्य वृद्धि भएको थियो ।

भदौमा खाद्य तथा पेय पदार्थहरु तथा फलफूलमा १७.२९, घ्यु तथा तेलमा १४.५३, रेष्टुरेन्ट तथा होटलमा १२.३०, मदिराजन्य पेय पदार्थमा १०.२४ र तरकारीहरुमा ९.९४ प्रतिशतको मूल्य वृद्धि देखिएको छ ।

त्यस्तै, खाद्य तथा पेय पदार्थभन्दा बाहेकका र सेवा समूहमा देखिएको मूल्य वृद्धिअन्तर्गत यातायातमा २३.४१, स्वास्थ्यमा १०.५५, फर्निसिङ तथा घरायसी उपकरणहरुमा ९.२५, शिक्षामा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुमा ७.६९ प्रतिशतको मूल्य वृद्धि देखिएको छ ।

राष्ट्र बैंककाअनुसार सबैभन्दा धेरै मूल्य वृद्धि तराईमा देखिएको छ । तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६ प्रतिशत देखिएको हो । काठमाडौं उपत्यकामा भने ७.६२ प्रतिशत मूल्य वृद्धि देखिएको छ । गत वर्ष भदौ महिनामा काठमाडौं उपत्यकामा ३.२३, तराईमा ३.६५, पहाडमा ३.९३ र हिमालमा ३.५१ प्रतिशत मूल्य वृद्धि देखिएको थियो ।

राष्ट्र बैंककाअनुसार भदौमा निर्माण सामग्रीको मूल्यमा पनि भारी वृद्धि देखिएको छ । जसमा निर्माण सामग्रीको थोक मूल्य वृद्धि १९.३६ प्रतिशत देखिएको छ । त्यस्तै, उपभोग्य वस्तुमा १२.९१, मध्यवर्ती वस्तुमा १५.९३ र पुँजीगत वस्तुमा ६.३६ प्रतिशतको मूल्य वृद्धि देखिएको छ ।

मूल्य वृद्धि भइरहँदा तलब तथा ज्यालादर सूचकांक भने ११.६८ प्रतिशतले बढेको छ । जसमध्ये तलब १२.३९ र ज्यालादर ११.४६ प्रतिशतले बढेको हो ।


क्लिकमान्डु