सबै संरक्षित क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । देउवाले प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघिबढाउन जरुरी रहेको पनि बताए ।
उनले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय बिस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान दिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले प्रकृति संरक्षण र जैविक विविधताको माध्यमबाट नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको पनि उल्लेख गरे ।

उनले प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पु¥याउन सकिने बताए । प्रधानमन्त्री देउवाले प्रकृति एवं जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र मुलुकको समृद्धिमा सहयोग पुर्याउने गरी काम गर्न आवश्यक रहेको पनि बताए । देउवाले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै वन्यजन्तुको संरक्षणको विषयलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा सहयोग गर्न सकिने बताए ।

देउवाको भनाइ जस्ताको त्यस्तै

नेपाल प्राकृतिक श्रोत, सम्पदाले भरिपूर्ण मुलुक हो । प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके यसबाट पर्यावरण,जैविक असन्तुलन भइ हाम्रो जनजीवन खरतापूर्ण बन्ने अवस्था छ । हाम्रो पहलमा नेपालको संविधानले स्वच्छ, वातावरणको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । यसलाई प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी छ । आगामी दिनमा कोषले प्राकृतिक संरक्षणको क्षेत्रमा थप प्रतिवद्धताका साथ काम गर्ने अपेक्षा लिएको छु । अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय बिस्तार गर्दै मुलुकको प्रकृति संरक्षणमा अझ बढी योगदान पुर्याउने विश्वास लिएको छु । प्रकृतिको गहनाका रुपमा रहेका विविध प्रजातीका वन्यजन्तुहरुको उपस्थितिले प्रकृति संरक्षण र जैविक विविधताको अध्ययनमा नेपालले प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना छ । प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको उपस्थितिले मुलुकमा प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गरी आर्थिक अवस्थालाई सहयोग पु¥याउन सकिन्छ । प्रकृति एवं जैविक विविधतालाई पर्यावरण सन्तुलन गरिराख्ने र अर्कोतिर मुलुकको समृद्धि विकासमा सहयोग पु¥याउने गरी यो क्षेत्रमा हामीले काम गर्नुपर्छ । नेपालले विश्वकै दुर्लभ वन्यजन्तुको रुपमा लिइने बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

१० वर्षको छोटो अवधिमा नै नेपालले बाघको संरक्षणमा र वन्यजन्तुको संरक्षणमा अन्तर्राष्ट्रिय समुदाय समक्ष सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ । बाघको संख्या बढेको सन्दर्भमा हामीले यसलाई पर्यटनसँग जोडेर मुलुकको अर्थतन्त्रमा धेरै टेवा पु¥याउने गरी अघिबढ्न आवश्यक छ । वन्यजन्तुको संख्या बढ्दै गर्दा मानिसको क्षति नहुने गरी काम गर्न सबैलाई अनुरोध गर्दछु । मानव वन्यजन्तु द्वन्द्व हुने ठाउँमा संरक्षित क्षेत्र कार्यालय, वन्य जीवजन्तु कार्यालयको सहकार्य र समन्वयमा समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिन कोषले महत्वपूर्ण योगदान दिएको छ । घाइते वन्यजन्तुहरु पाए तत्काल उपचार गर्न आवश्यक छ । साथै वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघिबढाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु । नेपाली संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक हुने हुँदा कोषले व्यवस्थापन गर्ने कार्य आगामी दिनमा सबै संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र पर्यटीकीय सेवाहरुको स्तरोन्नतीमा जोड दिन आवश्यक छ । यो क्षेत्रमा काम गर्नेहरुले ज्यानको जोखिम मोलेर काम गर्नुपर्ने हुँदा उनीहरुको सुरक्षा र विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था दिनुपर्छ ।


क्लिकमान्डु