हिउँभित्र खुलेको तिलिचोको सुन्दरता, हेर्नुस् १३ तस्बिर



मनाङ । दशैंको टीका र त्यसपछि केही दिन लगातार वर्षा हुँदा मनाङमा हिमपात भएको थियो ।

पर्यटकीय गन्तव्य मनाङमा दशैं लगत्तै भएको हिमपातका कारण पर्यटक आवागमन प्रभावित बन्यो भने ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिएको थियो ।

नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मि) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे (३,३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भएको थियो ।

हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परेसँगै उक्त क्षेत्रमा चिसो ह्वात्तै बढेको थियो । दशैं बिदाको अवसर पारेर मनाङका विभिन्न क्षेत्रमा पुगेका आन्तरिक र वाह्य पर्यटक वर्षासँगैको हिमपातका कारण रोकिएका थिए ।

थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायतका स्थानमा सयौंको संख्यामा पर्यटकहरु रोकिएका थिए भने तिलिचो ताल (४,९१९ मि) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक रोकिएका थिए ।

मौसममा सुधार आएसँगै असोज २७ गते विश्वकै सर्वोच्च स्थानमा रहेको तिलिचो ताल पुग्ने बाटो खुलेको थियो । हिमपातको समयमा स्थानीय प्रशासनले तिलिचो जान रोक लगाएको थियो ।

स्थानीय होटल व्यवसायीको पहलमा तीन दिन लगाएर बाटो खोलिएसँगै तिलिचो बेसक्याम्पमा रहेका पर्यटक असोज २८ गते तिलिचो पुगेका थिए ।

सिजनको सुरुवातमै हिमपात भएसँगै पर्यटकले बेसक्याम्पबाट तिलिचोसम्म हिँउमा यात्रा गर्ने अवसर पाएका थिए । बेसक्याम्पका व्यवसायीहरुका अनुसार करिब १२ वर्षपछि पहिलो सिजनमा यति धेरै हिँउ परेको हो ।

बेस क्याम्पबाट करिब ४ घण्टा कष्टकर यात्रापछि तिलिचो पुगिन्छ ।

तस्बिरमा हेर्नुस् बेसक्याम्प र तिलिचो आसपासको क्षेत्र


क्लिकमान्डु