अविरल वर्षाका कारण बर्दियाका २ सय बढी घर डुबानमा



काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो ।

गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले र बस्नका लागि अहिले समस्या भइरहेको बताए ।

त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभएपनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताए । उनले घरहरु डुबानमा परेको र घरभित्र पानीले जमेकाले बस्नसक्ने अवस्था नरहेको बताए ।

त्यस्तै, अर्का स्थानीय मिर्घेन्द्रप्रकाश गिरीले ६ दिनदेखि आफू घरभित्रै रहेको जानकारी दिए ।

‘अहिले पनि मुसलधारे पानी परिरहेको छ,’ गिरिले भने, ‘म ६ दिनदेखि घर बाहिर निस्कन सकेको छैन ।’

आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले शतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै शतर्क रहन विभागले आग्रह गरेको छ ।


क्लिकमान्डु