२ महिनामा साढे ७ करोड रुपैयाँको स्मार्टवाच आयात, कुन देशबाट कति ?



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले साढे ७ करोड रुपैयाँको स्मार्टवाच आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन र भदौ महिनामा नेपालले ७ करोड ३९ लाख ३ हजार रुपैयाँको ५३ हजार ३४९ वटा स्मार्टवाच आयात गरेको हो ।

नेपालले उक्त आयातित स्मार्टवाचबाट २ करोड २३ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्लो समय प्रविधिको बढ्दो विकाससँगै अधिकांश वस्तु प्रयोगमा स्मार्ट हुँदै गएको छ । जसले गर्दा सहज, छिटो र छरितो हुँदै गएको छ ।

विगतको दिनमा साधारण घडी उच्च प्रयोग हुने गर्थ्यो । तर, पछिल्लो समय स्मार्टवाचको विकास भएसँगै नेपालमा पनि प्रयोगकर्ता बढ्दै गएका छन् । भन्सारको तथ्याङ्कले पनि स्मार्टवाचमा आकर्षण बढ्दै गएको देखाउँछ ।

नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी चीनबाट स्मार्टवाच आयात गरेको छ । नेपालले चीनबाट मात्रै ५ करोड ७३ लख ८४ हजार रुपैयाँको ४९ हजार ३७० स्मार्टवाच आयात तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यस्तै, नेपालले सो अवधिमा भियतनामबाट ९२ लाख ७६ हजार रुपैयाँको ३ सय वटा, भारतबाट ६७ लाख ७१ रुपैयाँको ३ हजार ६१० वटा, अमेरिकाबाट २ लाख ११ हजार रुपैयाँको ११ वटा, दक्षिण कोरियाबाट १ लाख ५ हजारको ४ वटा, अष्ट्रेलियाबाट ७१ हजारको ५ वटा, जापानबाट १७ हजार रुपैयाँको १ वटा, पोर्चुगलबाट १९ हजारको ४ वटा, कतारबाट २५ हजार रुपैयाँको १ वटा, युएईबाट २० हजारको ४१ वटा र २/२ हजारको १/१ वटा न्यूजिल्यान्ड र फिलिपिन्सबाट आयात गरेको छ ।


क्लिकमान्डु