दशैंमा बैंकको अफर, कुनको के छ ?



काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड विजया दशमी, तिहार, छठपर्व नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न योजना ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहक लक्षित आकर्षक अफर ल्याएका हुन् ।

एनआईसी एशिया बैंक

चाडपर्व लक्षित गर्दै एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्व लक्षित गर्दै ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ ।

बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स लिने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो योजना असोज १ देखि शुरु भएको छ भने कात्तिक ३० गतेसम्म कायम रहनेछ । यो योजना विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ ।

विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।

नबिल बैंक

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ ।

योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ ।

यस योजनामा आवास कर्जा, घर निर्माण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ ।

३५ वर्षसम्मको कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ । यस्तै नबिल बैंकले दसैंका लागि अर्को योजना पनि ल्याएको छ ।

बैंकले दराजसँगको सहकार्यमा ‘दराज दशैं धमाका’ महोत्सव योजना ल्याएको छ । बैंकले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दसैंलाई ध्यानमा राखी भदौ २९ देखि लागू हुनेगरी योजना ल्याएको हो । दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।

दराज दसैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई-कमर्शको लागि सक्रिय गर्नुपर्नेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने योजना ल्याएको छ ।

असोज १ देखि एक महिनाभर चल्ने यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ । यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ ।

बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालिसँगको सहकार्यमा ल्याएको हो ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

यस्तै दसैंका लागि बैंकले अर्को पनि योजना ल्याएको छ ।

बैंकका एसटिसी डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको सहकार्यमा दसैंका लागि एसटीसी डेबिट कार्ड भएका ग्राहक लक्षित एसटीसी तथा यूपीआई कार्डको दमदार दसैं धमाका थ्री-डि अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् ।

असोज १ देखि दशैंभर लागू भएको यो योजनामा कम्तिमा ३ वटा कारोबार गर्ने कार्ड होल्डरलाई ५०० तथा कम्तिमा ६ वटा कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार क्यासब्याक प्रदान गरिनेछ ।

क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० को हुनुपर्नेछ । जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिनेछ ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर भएको बैंकले जनाएको छ । जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एसटीसी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात् १ हजार (अधिकतम) सम्म क्यासब्याक पाउनेछन् ।

एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पे बीच दशैँ, तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य गरेको छ ।

बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म वा १०० रुपैयाँसम्म क्यासब्याक अफर प्रदान गरेको जनाएको छ ।

यस अफरमा सहभागीता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ ।

दसैं र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ । दसैं लक्षित यस अफर असोज ७ देखि शुरु भएर १४ गतेसम्म कायम रहनेछ । यस्तै तिहारलाई लक्षित गरी कात्तिक २ देखि ६ गतेसम्म संचालन हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंक

खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई १०० रुपैयाँ बोनस दिने अफर ल्याएको छ।

यो अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ । यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ ।

साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । यो अफर असोज ३१ गतेसम्म लागू हुनेछ । खल्ती मा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ ।

आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ आशिर्वाद बचत खातामा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्नु पर्नेछ । खातावालाहरुले आफ्नो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी ५१ लाखसम्मको बीमा सुविधा पाउनेछन् । विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।

यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खातामा न्यूनतम १ लाख मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् ।

बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले दसैंका लागि भन्दै क्यास ब्याक अफर ल्याएको छ । ‘दसैंको बहार क्यास ब्याक उपहार’योजना ल्याएको छ । दसैंमा पहिलो अनलाइन पेमेन्ट गर्दा वा पीओएस मार्फत भुक्तानी गर्दा तथा डेबिट कार्यबाट कारोबार गर्दा २० प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ । यो योजना असोज ८ गतेदेखि लागू भएको छ भने १४ गतेसम्म कायम रहने भएको छ ।

सिभिल बैंक

सिभिल बैंकले दसैं अफ ल्याएको छ । बैंकले ‘यस चाडपर्व, लाइफ इजि बनाऔ नगद छोडौ, फोनपे गरौ योजना ल्याएको छ । साथै सिभिलि स्मार्ट मोबाइल बैंकिङ बाट फोन पे क्यूआर गरी अतिरिक्त १० प्रतिशत वा २ सय सम्म छुट पाउने सकिने भएको छ ।

यो योजना असोज ९ गतेबाट सुरु भएको छ । कात्तिक १४ गतेसम्म कायम हुने बैंकले जनाएको छ । यस्तै फोन पे मा कारोबार गर्दा भाटभटेनीमा अललिमिटेड सपिङ उपहार योजना पनि ल्याएको छ । यो योजना असोज ८ गतेदेखि सुरु भएको छ भने कात्तिक १३ गतेसम्म कायम रहने छ । यसमा दैनिक १ हजार देखि २० हजारसम्म उपहार पाउन सकिने छ । यस्तो उपहार भने सातामा ७० जना ग्राहकले पाउनेछन् ।

प्रभु बैंक

प्रभु बैंकले पनि भाटभटेनीमा फोन पे मार्फत भुक्तानी गरेर किनमेल गर्नेलाई उपहार दिने योजना ल्याएको छ । बैंकले असोज ८ गतेदेखि सुरु गरेको यो योजना कात्तिक १३ गतेसम्म कायम रहने छ ।

यसमा हरेक साता ७० जना ग्राहकलाई फोन पे क्यूआरबाट भुक्तानी गर्दा २० हजार ग्राहकलाई १ हजार बराबरको उपहार भौचर दिने जनाएको छ । यस्तै हरेक दिन ५७५ उपहार भौचर सार्वजनिक गर्ने र यो १ हजार बराबरको हुने बैंकको भनाइ छ ।

सानिमा बैंक
सानिमा बैंकले पनि दसैं अफर ल्याएको छ । बैंकले दसैं र तिहारलाई लक्षित गर्दै ५०० रुपैयाँसम्म क्यास ब्याक दिने अफर ल्याएको छ । बैंकको क्रेडिट कार्डको भुक्तानी, मासिक किस्ताबन्दी (इएमआई) बाट गर्दा ५ सय रुपैयाँसम्म क्यासब्याक उपहार दिने योजना ल्याएको छ ।

यो योजना असोज १ देखि सुरु भएको छ भने कात्तिक ३० गतेसम्म कायम रहने बैंकले जनाएको छ । यस्तै बैंकले ग्राहकहले डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने योजना पनि ल्याएको छ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय रुपैयाँ सम्मको छुट पाउनेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । यो योजना भदौ २९ देखि असोज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।

 एनएमबि बैंक

 एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका शुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई-कमर्श/पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउनुहुनेछ । क्रेडिट कार्डः एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई-कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक पाउने छन् ।

एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी÷एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाऊनु हुनेछ । त्यस्को साथसाथै इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाउनुहुनेछ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भै सकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले वडादशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सेवामा विशेष छुट प्रदान गरेको बैंकले जनाएको छ । सेवा प्राप्तिका लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले फोनपे क्युआर ग्राहकहरुको लागि चाडपर्व अफर ल्याएको छ । बैंकले आफ्ना फानेपे क्युआर ग्राहकहरुलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ ।

‘यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौं फानेपे गरौ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, फोनपेबाट क्युआर, आइबिएफटि तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । फोनपे कयुआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकहरुले यो लक्की ड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्नेछ ।


क्लिकमान्डु