चार मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन- बजार अनुगमन बढाउनू



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमन बढाउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चार मन्त्री र सचिवहरुसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा कृतिम अभाव गर्ने व्यवसायीलाई कडा कारबाही गर्न निर्देशन दिएका हुन् ।

‘चाडपर्वको समयमा जनताले कृतिम मूल्य वृद्धिको सामाना गर्नु नपरोस्,’ प्रधानमन्त्री देउवाले बैठकमा भने ,‘बजार अनुगमन नियमित गरेर गलत गर्ने सबैलाई कानून अनुसार कडा कारबाही गर्नु होला ।’

आइतबार बिहान बालुवाटारमा महँगी नियन्त्रण र बजार अनुगमन बढाउने विषयमा उद्योगी व्यवसायी र सरोकारवाला निकायसँग छलफल भएको थियो ।

दशैं, तिहार र छठ पर्वलाई मध्यनजर राख्दै महँगी नियन्त्रणका लागि बजार अनुगमन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले तीन जना मन्त्रीसहित सरोकारवाला निकायका प्रमुखलाई बालुवाटार बोलाएका थिए ।

छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, भौतिक पुर्वाधार तथा यातायात मन्त्री इस्तियाक राई, स्वास्थ मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई लगायतका उच्च सरकारी अधिकारी सहभागी थिए ।

छलफलमा सहभागी हुन निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवाल, नेपाल च्याम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्ल लगायतका उद्योगी र व्यवसायीलाई बोलाइएको थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वको बजार अनुगमन गरेर चाडबाडको समयमा हुने कृतिम महँगी नियन्त्रण कसरी गर्ने, सरकारका तर्फबाट कस्तो कदम चाल्नु पर्ने र उद्योग व्यवसायीका चासो कसरी सम्बोधन गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।


क्लिकमान्डु