दुई महिनामै पौने ३ खर्बको वस्तु आयात, व्यापारघाटा साढे २ खर्ब



काठमाडौं । सरकारले आयातमा कडाइ गरे पनि दुई महिनामा नेपालले पौने ३ खर्बको वस्तु आयात गरेको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको आयात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष १३ प्रतिशतले आयात घटेको छ । तर, साउनको तुलनमा भदौमा आयात बढेको छ ।

दशैं नजिकिँदै गर्दा भदौमा आयात बढेको भन्सार विभागले जनाएको छ । गत साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको आयात गरेको थियो । त्यस्तै, भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड ३५ लाख ८६ हजार रुपैयाँको वस्तु आयात गरेको विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

विभागको तथ्याङ्अनुसार दुई महिनाको अवधिमा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । जसमा चालु आवमा ३४.८८ प्रतिशतले निर्यात कम भएको छ ।

त्यसैगरी, नेपालले दुई महिनाको अवधिमा ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जुन १५.७० प्रतिशतले कमी हो ।

नेपालले दुई महिनाको अवधिमै २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । चालु आवमा ९.४५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गर्छ ।

नेपालले २ महिनाको अवधिमा सबैभन्दा बढी डिजेल आयात गरेको छ । दुई महिनाको अवधिमा १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल, १० अर्ब ४२ करोड ३ लाख रुपैयाँको एलपीजी ग्यास, ९ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कच्चा भटमासको तेल, ७ अर्ब २७ करोड ८४ लाख रुपैयाँको फेरस प्रोडक्ट, ६ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कच्चा पाम तेल, ६ अर्ब १८ करोड ९ लाख रुपैयाँको मोबाइलफोन, ६ अर्ब १८ करोड १ लाख रुपैयाँको आइरन तथा स्टिल र ४ अर्ब ९१ करोड ९१ लाख रुपैयाँको डण्डी आयात गरेको छ ।

नेपालले सो अवधिमा २ अर्ब ४७ करोड ४९ लाख रुपैयाँको पामोलिन तेल निर्यात गरेको छ । त्यस्तै, २ अर्ब १३ करोड ५५ लाख रुपैयाँको कार्पेट, १ अर्ब ९६ करोड ८६ लाख रुपैयाँको भटमासको तेल, ३ अर्ब २२ करोड ५ लाख रुपैयाँको पाम तेल, १ अर्ब २० करोड ६६ लाख रुपैयाँको फेल्ट, ९० करोड ६९ लाख रुपैयाँको चिया, ७४ करोड ७७ लाख रुपैयाँको चिया, ६८ करोड २६ लाख रुपैयाँको धागो र ६८ करोड ९ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।


क्लिकमान्डु