पर्यटन बोर्डका कर्मचारी आन्दोलनमा, माग सम्बोधन नभएसम्म पेन डाउन



काठमाडौं । नेपाल पर्यटन बोर्डका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रुपमा विभिन्न माग राख्दै आन्दोलन शुरु गरेका हुन् ।

कर्मचारी युनियनले नेपाल पर्यटन बोर्डको व्यवस्थापनले आफ्ना माग सम्बोधन नगर्दासम्म कार्यालयको कुनै पनि काम नगर्ने घोषणा गरेको छ ।

नेपाल पर्यटन बोर्डले सामना गरिरहेका समस्या तत्काल सम्बोधन गर्नसमेत कर्मचारी युनियनले माग गरेका छन् ।

बोर्डका कर्मचारीले नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द गरिएको राजश्व कार्यलय तत्काल सुचारु गर्न माग गरेको छ ।

नेपाल आउने पर्यटकलाई कुनै सेवा नदिई १ हजार रुपैयाँ पर्यटक सेवा शुल्क लिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौं २३ गते बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कार्यालयमा ताला लगाएको थियो ।

जसले गर्दा नेपाल पर्यटन बोर्डले २० वर्षदेखि संकलन गर्दै आएको पर्यटक सेवा शुल्कमा विवाद भएको छ । बोर्डका कर्मचारीले सेवा शुल्क संकलनमा देखिएको विवादलाई तत्काल समाधान गर्न माग गरेका छन ।

यस्तै, नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०७९/८० को आम्दानी प्रक्षेपण स्वभाविक, प्राकृतिक, यथार्थपरक र वस्तुपरक नभएकाले उक्त बजेट संशोधन हुनु पर्ने कर्मचारीको माग छ ।

बोर्डका प्रमुख कार्याकारी अधिकृत धनञ्जय रेग्मीले राजनीतिक नेतृत्वलाई रिझाउन र आफू अनुकुलका आयोजनामा बजेट विनियोजन गर्न बजेटको आकार अनावश्यक रुपमा बढाएको कर्मचारीको आरोप छ ।

कर्मचारी यूनियनले बोर्डको उद्देश्य अनुकुल विदेशी पर्यटकको आगमन बृद्धि गरी विदेशी मुद्रा भित्र्उन सहयोग गर्ने अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेट केन्द्रित गर्न माग गरेका छन् ।

यस्तै, नेपाल सरकारले गरेको १५ प्रतिशत तलब बृद्धिको निर्णय पर्यटन वोर्डमा समेत लागू हुनु पर्ने कर्मचारी यूनियनको माग छ ।


क्लिकमान्डु