पसलमा राखेको साइन बोर्डको कर तिर्न महानगरको सूचना, ३० दिनभित्र नतिरे कारबाही



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र व्यवसाय गर्नेहरूलाई आफ्नो पसलमा राखेको परिचय पाटी (साइन बोर्ड) को कर तिर्न सूचना जारी गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्रवडा कार्यालयमा गएर कर तिर्न भनेको हो ।

‘महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउनुपर्ने परिचय पाटी शुल्क नबुझाएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गइ महानगरको आर्थिक ऐन २०७९ को अनुसूची ९ बमोजिमको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ’ महानगरको सूचनामा भनिएको छ ।

उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने सूचनामा चेतावनी दिएको छ ।

परिचय पाटी ६ वर्ग फुटसम्म एक वटाको ५०० रूपैयाँ, १५ वर्ग फुटसम्मको १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट १००० रूपैयाँ वार्षिक शुल्क लाग्ने र ३० वर्गफुटभन्दा माथिको परिचय पाटी राख्न नपाइने व्यवस्था रहेको महानगरले जनाएको छ ।


क्लिकमान्डु