अनिवार्य जग्गा वर्गीकरण गर्नुपर्ने नीतिले बढेन कारोबार, कित्ताकाटमा उच्च प्रभाव



काठमाडौं । सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गर्दै जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने नीतिले कारोबार प्रभावित भएको छ । सरकारले हालका लागि कृषि क्षेत्र र गै्रह कृषि क्षेत्रमा अनिवार्य वर्गीकरण गरेर मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्था लागू भएसँगै जग्गा कारोबारमा उच्च प्रभाव परेको हो ।

सामान्य अवस्थामा मासिक ७० हजारको हाराहारीमा कित्ताकाटसँगै किनबेच हुँदै आएकोमा सरकारले भूउपयोग नियामवली जारी गरेसँगै जग्गाको कित्ताकाट र कारोबारमा उच्च कमी आएको छ ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा नियामवली जारी भएसँगै घरजग्गा कारोबार आधाले घटेको छ । विभागअनुसार गत असारमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार २७ वटा घरजग्गा किनबेच भएका थिए । त्यस्तै, साउन महिनामा भने उक्त कारोबार संख्या घटेर ३३ हजार ८३४ मा सीमित भएको थियो ।

त्यस्तै, भदौमा पनि कारोबार भने बढ्न नसकेको तथ्याङ्कले उल्लेख गर्छ । भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ३४ हजार ७२० घरजग्गा किनबेच भएको छ । जसमा साउनको तुलनामा करिब १ हजार बढी घरजग्गा किनबेच भएको छ । सो महिना ३१ वटा अपार्टमेन्ट पनि किनबेच भएको छ ।

भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ३४ हजार ७२० लिखत पारित हुँदा २ हजार ८३९ नामसारी, ३ हजार ६२६ संशोधन, ३६ हजार २८९ रोक्का, १९ हजार ९५६ फुकुवा र ९८२ दाखिला खारेज गरेको छ ।
भदौ महिनामा सबैभन्दा बढी कारोबार इनरुवा सुनसरी कार्यालयबाट भएको छ । उक्त कार्यालयबाट भदौमा १ हजार ७९५ घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, बाँके नेपालगञ्ज मालपोत कार्यालयबाट १४ सय ४४ वटा, जनकपुरधाम धनुषाबाट १३ सय ६९, बेलबारी मोरङबाट १२ सय ६९, राजविराजबाट ११ सय २५ वटा, भद्रपुर झापाबाट १ हजार ३९ वटा र भक्तपुरबाट ९२६ वटा घरजग्गा किनबेच भएको छ ।

काठमाडौंमा ४३ सय घरजग्गा किनबेच

भदौ महिनामा ३४ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा उपत्यकामा ४३ वटा घरजग्गा किनबेच भएको छ ।
उपत्यकामा मासिक ६ हजारभन्दा माथि घरजग्गा किनबेच हुँदै आएकोमा जग्गा वर्गीकरण नीति लागू भएसँगै घरजग्गा किनबेच ह्वात्तै घटेको छ ।

भदौ महिनामा उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट ९२६ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, ललितपुरबाट ८५०, कलंकीबाट ७१८, साँखुबाट ६९४, चावहिलबाट ५२६, मनमैजुबाट २५४, टोखाबाट ११५, डिल्लिबजारबाट १८६, टोखाबाट १३३ र गोटीखेलबाट १३ वटा घरजग्गा किनबेच विभागको भनाइ छ ।

१० हजार जग्गा कित्ताकाट

सरकारले कित्ताकाटमा कडाइ गरेसँगै देशभर हुने जग्गा खण्डीकरण कार्यमा कमी आएको छ । मासिक ७० हजारको हाराहारीमा जग्गा खण्डीकरण हुँदै आएकोमा सरकारको नीतिले ह्वात्तै घटेको विभागले जनाएको छ ।

विभागअनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । त्यस्तै, भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको छ ।

साढे ३ अर्ब राजस्व संकलन

भदौ महिनामा देशभरको मालपोत कार्यालयबाट ३४ हजार घरजग्गा किनबेच हुँदा साढे ३ अर्ब राजस्व संकलन गरेको छ ।

विभागले भदौ महिनामा ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त महिना सेवा करवापत २२ करोड ६ लाख, बाग्मतीबाट ९ करोड ७४ लाख, रजिष्ट्रेशन दस्तुरबाट १ अर्ब ८८ करोड ४९ लाख, पुँजीगत लाभ करवापत १ अर्ब ६ करोड र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो ।

देशभरको मालपोत कार्यालयबाट दिने छुटवापत विभागले २७ करोड ३५ लाख ७० हजार रुपैयाँ छुट दिएको छ ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी ललितपुरबाट भएको छ । साथै, ललितपुरबाट २९ करोड ४६ लाख, डिल्लिबजारबाट २८ करोड ७६ लाख, कलंकीबाट २१ करोड ८४ लाख, चावहिलबाट २० करोड १३ लाख, भक्तपुरबाट १९ करोड १४ लाख, साँखुबाट ११ करोड ६१ लाख र चितवनबाट ९ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु