नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको भदौ ३१ गते बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरी नागरिकको अधिकारलाई सुनिश्चित गर्न माग गर्ने निर्णय गरिएको लोसपाले आज विज्ञप्तिमार्फत जनाएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले असोज ४ गतेसम्म नागरिकता विधेयक प्रणाणीकरण नभए राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारको रक्षार्थ पार्टी बाध्य भएर सङ्घर्षमा जानुपर्ने परिस्थिति आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

सरकारद्वारा टीकापुर घटनामा मुद्दा लगाइएका रेशम चौधरीलगायतका आन्दोलनकारीहरूलाई मुद्दा खारेज गरी रिहाइ गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको जनाउँदै कानुनी प्रक्रिया पुर्‍याएर टीकापुरजस्तै महोत्तरी घटनाका मुद्दा खारेज गर्न सरकारसँग आग्रह गरेको छ ।


क्लिकमान्डु