गत वर्ष आनामा ५५ हजारसम्म मूल्य बढाएको काभ्रेपलाञ्चोक मालपोतले यो वर्ष १ लाखसम्म बढायो



काठमाडौं । काभ्रेपलाञ्चोक मालपोत कार्यालयले यो वर्ष जग्गाको न्यूनतम मूल्य प्रतिआना १ लाख १० हजार रुपैयाँसम्म बढाएको छ । कार्यालयले गत वर्ष पनि ५५ हजारसम्म मूल्य बढाएको थियो ।

अन्य मालपोत कार्यालयले २/२ वर्षमा जग्गाको मूल्य बढाउँदै आएको छन् । तर, मालपोत कार्यालयले काभ्रेपलाञ्चोकले भने बढ्दो शहरीकरण र विकासको आधारमा निरन्तर मूल्याङ्कन गरी जग्गाको मूल्य बढाएको छ ।

देशभरका मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० को जग्गाको मूल्याङ्कन गरेका छन् । मालपोत कार्यालयहरुले हरेक वर्ष आर्थिक वर्षमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनको लागि सम्बन्धित क्षेत्रको जग्गाको न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने हुन्छ ।

सोहीअनुसार अहिले देशभरका मालपोत कार्यालयहरूले मालपोत ऐन, २०३४ को प्रावधान बमोजिम आव २०७९/८० को मालपोत कार्यालयले तोकिएको समितिमार्फत् जग्गाको मूल्याङ्कन गरी मूल्य सार्वजनिक गरेका छन् ।

मालपोत कार्यालयहरुले विभिन्न मार्ग निर्देशनसमेतका आधारमा जग्गा रहेको स्थानको बाटो, अवस्था र प्रकार, बजार मूल्य, र न्यूनतम मूल्यबीचको अन्तर यथासम्भव कम गराउन विभिन्न क्षेत्रभित्र बढेको आर्थिक गतिविधि, जनसंख्याको चाप, जग्गाको स्थलरुप, भौतिक सुविधा, कृषि उपज, व्यापारिक तथा पर्यटकीय क्षेत्रसमेतलाई दृष्टिगत गरी जग्गाको मूल्याङ्कन गरी मूल्य बढाउँदै आएका छन् ।

त्यस्तै, गत वर्षमात्रै प्रतिआना ५५ हजारसम्म मूल्य बढाएको काभ्रेपलाञ्चोक मालपोत कार्यालयले यो वर्ष १ लाख १० हजारसम्म मूल्य बढाएको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । पछिल्लो समय काभ्रेपलाञ्चोकमा उच्चरुपमा घरजग्गा कारोबार हुँदै आएको छ ।

देशभर घरजग्गा किनबेचमा मुख्य १० जिल्लामा पर्ने काभ्रेपलाञ्चोकमा क्रमशः शहर विस्तार तथा विकास हुँदै गएको छ । जसले गर्दा सो क्षेत्रमा घरजग्गा किनबेचमा बढ्दो आकर्षण देखिएको विभागको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै, बढ्दो शहरीकरणले गर्दा काभ्रेपलाञ्चोकको जग्गाको मूल्य ह्वात्तै बढेकाले मालपोत कार्यालयले मूल्याङ्कन गरेर जग्गाको मूल्य बढाएको जनाएको छ ।

गत वर्ष बनेपाल नगरपालिका अन्तर्गत रहेका बनेपा, दछुटोल, चण्डेश्वरी, श्रीखण्डपुर क्षेत्रको जग्गाको मूल्य प्रतिआना ७० हजारदेखि ११ लाख रुपैयाँसम्म तोकेको थियो । तर, यो वर्ष सोही क्षेत्रको जग्गाको मूल्य प्रतिआना ७३ हजार ५ सय रुपैयाँदेखि १२ लाख १० हजार रुपैयाँसम्म मूल्याङ्कन गरेको छ । मालपोत कार्यालयले चण्डेश्वरी बनेपा दक्षुटोल र श्रीखण्डपुर अरनिको राजमार्गमा पर्ने जग्गाहरुको मूल्य प्रतिआना १२ लाख १० हजार रुपैयाँ तोकेको हो ।

त्यसैगरी, कार्यालयले उग्रचण्डी नालाको क्षेत्रमा रहेको जग्गाको मूल्य प्रतिआना ६३ सय रुपैयाँदेखि ३ लाख ८ हजारसम्म, टुकुचा नाला क्षेत्रको प्रतिआना ७ हजार ८७५ रुपैयाँदेखि १ लखा ६५ हजारसम्म, अनैकोट क्षेत्रको ३६ सय ७५ रुपैयाँदेखि ५५ हजारसम्म र नालाको क्षेत्रको प्रतिआना ८४ सयदेखि १ लाख ५१ हजार रुपैयाँसम्म मूल्य तोकेको छ ।

कार्यालयले पाँचखाल नगरपालिकाको भरकोट क्षेत्रको प्रतिआना ४२ सय रुपैयाँदेखि ५८ हजारसम्म, पनौती नगरपालिका क्षेत्रको प्रतिआना ६३ सयदेखि १ लाख २८ हजारसम्म र साँगाको क्षेत्रको प्रतिआना २२ हजार ५० रुपैयाँदेखि ७ लाख ५९ हजारसम्म मूल्याङ्कन गरेको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकामा रहेको जग्गाको न्यूनतम मूल्य ३ हजार ७८० रुपैयाँदेखि ८ लाख ९० हजारसम्म तोकेको छ । पनौती नगरपालिकाले प्रतिआना ३ हजार २५० रुपैयाँदेखि २ लाख ८० हजार रुपैयाँसम्म, पाँचखल नगरपालिकाले प्रतिआना ३५ सयदेखि २ लाख ७८ हजार रुपैयाँसम्म, नमोबुद्ध नगरपालिकाले २५ सयदेखि २ लाख ८ हजार रुपैयाँसम्म, मण्डनदेउपुर नगरपालिकामा रहेको जग्गाको ५५ सयदेखि १ लाख ५६ हजारसम्म, चौरीदेउराली गाउँपालिकाको १४ हजारदेखि १ लाख ९३ हजारसम्म मूल्याङ्कन गरेको छ ।

रोशी गाउँपालिकामा रहेका जग्गाको मूल्य प्रतिआना २३ हजारदेखि ६ लाख ३६ हजारसम्म, भम्लु गाउँपालिकाको जग्गाको प्रतिआना २१ हजारदेखि १० लाख ९८ हजारसम्म, बेथानचोक गाउँपालिकाको प्रतिआना २१ हजारदेखि ८ लाख ९ हजारसम्म, महाभारत गाउँपालिकाको १२ हजारदेखि ५८ हजारसम्म, तेमाल गाउँपालिकाको १७ हजारदेखि ३ लाख ८५ हजारसम्म र खानीखोला गाउँपालिकाको जग्गा १४ हजारदेखि २ लाख ४८ हजार रुपैयाँसम्म मूल्याङ्कन गरेको छ ।


क्लिकमान्डु