बाबुरामलाई बालेनको जवाफ: हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्नुपर्थ्यो नि !



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन) सँग फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्नेहरुलाई निश्चित ठाँउ/समय तोकेर व्यवस्थापन गर्न सामाजिक सञ्जालबाट सुझाव दिएपछि शाहले त्यसको जवाफ दिएका छन् ।

भट्टराईले शुक्रबार बिहान उपत्यकामा पुरिएका नदीको खोजी गर्ने मेयर शाहको कामको प्रशंशा गर्दै फुटपाथमा व्यवसाय गर्नेहरुको व्यवस्थापन गर्न मेयर शाहलाई सुझाव दिएका थिए ।

उनले सामाजिक सञ्जालमा सेयर गरेको त्यससँग सम्बन्धित समाचारमा मेयर शाहले जवाफ फर्काएका छन् ।

‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतःनिश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ’ पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो भनाइमा बालेनले ‘रिप्लाइ’ गरेका हुन् ।

बालेनले भनेका छन्,’यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि ।’ बालेनको उक्त रिप्लाइमा १ हजार ४ सयभन्दा धेरैले लाइक र २७० भन्दा धेरैले कमेन्ट गरेका छन् ।

प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराईको योजना र निर्देशनमा ०६८ असोजमा काठमाडौंमा सडक विस्तार भएको थियो ।मुआव्जा लिएर पनि घर नभत्काएकाहरुको र मापदण्ड विपरित बनेका संरचनामा बाबुराम नेतृत्वको सरकारले डोजर चलाएको थियो ।

जसका कारण अहिले काठमाडौंको अधिकांश स्थानको सडक चौडा भएको छ । सडक व्यवस्थापनमा बाबुरामले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुने गरेको छ ।

मेयर शाहले फुटपाथ बनाउने बेलैमा फुटपाथ व्यवसायीका बारेमा सोचेको भए अहिले समस्या नआउने भन्दै भट्टराई माथि नै प्रश्न गरेका हुन् ।


क्लिकमान्डु