प्रचण्डले मलाई नै भष्म पार्न खोजेः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भष्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

बिहीवार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिएपनि आफूलाई छुरी रोपेको आरोप लगाए ।

उनले पार्टी एकता गरी बामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दापनि साधारण सदस्यबाट नै हटाएको बताए । उनले माओवादी अध्यक्ष दाहाललाई विषालु दाँतको संज्ञा दिए ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पहिल्यै नेकपा एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताए । उनले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताए ।

उनले गठबन्धन शब्दबाट अहिले आम नागरिकहरु आजित भएको बताए । उनले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचार गर्ने र भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी, र आफ्ना स्वार्थमा कुदेको गबठन्धनको संज्ञा दिए । उनले अहिलेको गठबन्धनको हैसियत एमालेसँग सिधा हेर्नसक्ने नरहेको बताए । उनले आगामी निर्वाचनमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पनि पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

ओलीको भनाइ जस्ताको त्यस्तै

हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, गठबन्धन, नेपाली जनतालाई सुन्न मन नलाग्ने भइसक्यो । बिहानै गबठन्धन, दिउँसो गबठन्धन, देश बिगार्ने गठबन्धन, लोकतन्त्र सिध्याउने गबठन्धन, भ्रष्टाचारलाई गर्ने र प्रश्रय दिने गठबन्धन, नातावादी गठबन्धन, आफन्तवादी गठबन्धन, परिवारवादी गठबन्धन, आफ्ना स्वार्थमा कुदेको गबठन्धन । यो गठबन्धन यति कमजोर छ, एमालेतिर गठबन्धनको कुनै हस्ती हुँ भन्नेहरु एमालेसँग लड्ने आँट गर्छ ? मैले धेरै केही भन्नुपर्दैन । अहिले नेकपा एमालेमा प्रवेशको लहर छ । स्थानीय तहमा ३८ लाख भोट ल्यायौँ, त्यो केही होइन, अब छोडिदिनुहोस्, ५० लाख कम्तिमा पुर्याउनुपर्छ । प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ । निकालेकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी आन्दोलन बनाऔँ, बलियो कम्युनिष्ट पार्टी बनाऔँ, समाजवादतर्फ अघि बढाऔँ, एकतावद्ध भएर अघि बढाऔँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । प्रचण्डलाई मैले मानसम्मानपूर्व मेरो सिटको छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔँ भनेको थिएँ । मैले अँगालो हालेको थिएँ । प्रचण्डलाई हात मिलाएको मात्रै होइन, तर प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म अलि होशियार त थिएँ, नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे । म पार्टी एकता जोगाऔँ भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाट नै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु । कस्तोसँग मैले एकता गरेको रहेछु । एकता अभियानको लागि मैले दिएको बहुमत, मैले दिएको वरदान मेरै टाउकोमा हात राखेर मलाई नै भष्म पार्न खोज्ने ? कत्रो धोका, कत्रो बेइमानी । आन्दोलन धोकाबाट हुन्छ ? नेकपा माओवादी केन्द्र त पहिल्यै एमालेसँग मिलिसक्यो अहिले गएको त पुष्पकमल दाहाल प्रचण्ड गुटमात्रै हो ।

आइरहने आवधिक निर्वाचनहरु हुन्छन्, ४/५ वर्षमा निर्वाचन आइरहन्छ, पार्टीहरु हार्छन्, जित्छन् भइरहन्छ । तर यो निर्वाचन त्यस्तो निर्वाचन होइन । यो निर्वाचन सामान्य निर्वाचन होइन । यसको विशेष अर्थ छ, विशेष महत्व छ । यो निर्वाचनमा नेकपा एमाले हार्नै मिल्दैन । देशका, जनताका लागि हार्न मिल्दैन । लोकतन्त्रका लागि हार्न मिल्दैन । भ्रष्टाचार नियन्त्रणका लागि हार्न मिल्दैन । शान्ति सुव्यवस्थाका लागि हार्न मिल्दैन । स्थिरता स्थायित्वका लागि हार्न मिल्दैन । देशको विकासको अभियान अघि बढाउनको लागि हार्न मिल्दैन । अहिले देशलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक हिसावले अधोपतनतिर लगिरहेका छन् । निर्लज्ज ढंगले देशलाई लगेका छन् । यसबाट बचाउन एमाले बाहेक अरु कोही छैन । त्यसका लागि एमालेले देशका लागि जित्नुपर्छ । यसका लागि अत्यन्त तीब्र तयारी गर्न म आग्रह गर्न चाहन्छु । हामीले मतवृद्धि गर्ने कुरादेखि लिएर मत रक्षा गर्ने कुरासम्म सम्पूर्ण शक्ति लगाएर प्रतिक्रियावादीहरु हाम्राबिरुद्ध आउनेछन् । संविधानमा कहाँ छ परमादेशबाट सरकार बनाउने कुरा ? गठबन्धनरुपी चक्रव्यूह तोड्न एमाले सक्षम रहेको छ । अहिलेका महारथी ठान्नेहरु कागजका बाघहरु मात्रै हुन् ।


क्लिकमान्डु