देश भ्रष्टाचारमा चुर्लुम्म डुब्यो, घुस नखुवाइ कामै हुँदैन: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । उनले नेपालमा घुस नदिएसम्म कामै नहुने सिस्टम बसेको दाबी गरे ।

नेपाल उद्योग व्यापार महासंघले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले नेपालमा माओवादी भएसम्म भ्रष्टाचारलाई चयनमा बस्न नदिने दाबी गरे ।

नेपालमा बाहिर भ्रष्टाचार गर्दिन भनेर साइनबोर्ड राख्ने र भित्र भ्रष्टाचार हुने गरेको उनको भनाइ छ । अब सिस्टममा नै सुधार आवश्यक रहेको उनको भनाइ छ ।

अहिले नेपालमा भ्रष्टाचार र कुशासन बढिरहेको उनको तर्क छ । ‘कयौं प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर साइनबोर्ड टाङ्ने र त्यसभित्र भ्रष्टाचार बाहेक केही पनि नगर्ने काम भयो,’ उनले भने, ‘के कारणले यस्तो भएको छ, यसमा व्यक्तिको दोष हो की प्रणालीमा नै दोष हो ? हामी सबैले बिचार गर्नुपर्ने बेला भएको छ ।’

निर्वाचन र शासन प्रणालीमा सुधार गर्ने हो भने भ्रष्टाचार रोक्न सकिने उनको दाबी छ । प्रचण्डले देशलाई भ्रष्टाचार मुक्त बनाउन आफूले योजना बनाएको सुनाए ।

राज्यको हिजोको स्कुलिङको कारणले उद्योगी व्यवसायी देख्नासाथ यी सबै शोषण गर्ने, ठग्ने, बेस्सरी कमाउने हुन् भनेको जसरी हेर्ने गरिएको उनको भनाइ थियो ।

उद्योग व्यवसायीले पनि राज्यलाई कुनै तरिकाले छल्ने, त्यसको लागि बाटो खोज्ने गलत संस्कार देखिएको बताए । त्यसका लागि राज्य जिम्मेवार बनेर सबै उद्योगी व्यवसायी पारदर्शी हुन आग्रह गरे ।

‘कुशासन र भ्रष्टाचार गरेर मानिसहरु छिट्टै धनी हुने, करोडौ, अरबौ कमाउने, छिटै धनी हुने संस्कार छ’ उनले भने, ‘त्यस्तै उद्योग व्यवसायमा पनि दुःख , कष्ट नगरी छिटो भन्दा छिटो रातारात अरबपति हुने गलत प्रवृति बढेको छ ।’

यस्तो प्रवृतिले कोही पनि चयनसँग मृत्युवरण गर्न नसक्ने प्रचण्डले स्मरण गराए । ‘गलत तरिकाले सम्पत्ति आर्जन गर्न उद्धत हुनुहुन्छ भने त्यसले दुईवटा गलत परिणाम निकाल्छ । एउटा त्यो दिगो हुँदैन, भुमरीमा हाल्छ । अर्को आत्मामा चयन हुँदैन’ उनले भने, ‘तपाईले गलत तरिकाले कमाएको हो भन्ने तपाईलाई, तपाईको परिवारलाई थाहा हुन्छ, त्यसो भएपनि आत्मा सम्मानका साथ समाजिमा दिगो रुपमा प्रस्तुत हुनसक्नुहुन्न ।’ त्यसले समाजमा दिगो रुपमा प्रस्तुत हुन नसक्ने दाबी गरे । दिगो हुने गरी काम गरे समाजमा इज्जत बढने दाबी गरे ।

प्रचण्डले खरिद ऐन संशोधन आवश्यक रहेको बताए । उनले कर्मचारी तन्त्रमा परिवर्तन नभएको, ऐन कानून परिवर्तन नभएका कारण धेरै ठाँउमा समस्या रहेको दाबी गरे ।

प्रचण्डले नेपालमा मुल समस्या राजनीति भएको र यो नसुध्रेसम्म देश समृद्धिमा नजाने बताए । त्यसले गर्दा पनि नेपालमा रोजगारी नबढेको स्वीकारे ।

नेपालमा उर्जाको क्षेत्रमा धेरै सम्भावना रहेको बताए । ‘नेपालमा बर्षौदेखि जलविद्युतमा ठूलो सम्भावना छ भनेको भनेकै छौ, वर्षौदेखि त्यही भनेका र्छौ, हाम्रो पानी बगेको बगेकै छ, पानी बगेर अन्यत्र गएको छ’ उनले भने ‘हामीले त्यसबाट जति लाभ लिनु पर्ने हो त्यसबापतको नेतृत्व, योजना र कार्यक्रम राम्रोसँग अघि बढाउन सकेनौं ।’

प्रचण्डले यस्ता योजना कार्यान्वयन गर्न नसकेर पानी अन्यत्र बगेर गएको गुनासो गरे । त्यसमा राज्यले आवश्यक पुर्वाधार, नीति, योजना र कार्याक्रम प्रभावकारी हुन नसकेको स्वीकारे । केही वर्षमा खर्बौ रुपैयाँ विजुली बिक्री खर्बौै रुपैयाँ आर्जन गर्न सकिने प्रचण्डको भनाइ छ ।

पर्यटनको पनि धेरै सम्भावना भएको देश, संसारकै सुन्दर, गौतम बुद्धको देश र सगरमाथाको देश हो भनेको भनेकै छौ’ उनले भने ‘त्यसको निम्ति आवश्यक पुर्वाधार, नीति, योजना र कार्यक्रम जति प्रभावकारी हुनु पर्ने हो त्यती हुन सकेको छैन ।’


क्लिकमान्डु