वीर अस्पतालले अब घर बहाल कर महानगरलाई नै बुझाउने



काठमाडौं । वीर अस्पतालले चालु आर्थिक वर्षदेखिको कर काठमाडौं महानगरपालिकामै बुझाउने भएको छ ।

वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो बापत प्राप्त हुने कर महानगरलाई नबुझाएको भन्दै महानगरले पत्र काटेको थियो ।

महानगरको पत्रपछि वीर अस्पतालले महानगरलाई पत्र लेख्दै चालु आर्थिक वर्षको साउन १ गतेदेखि प्राप्त हुने रकम महानगरको राजस्व कार्यालयमा बुझाउने जनाएको छ ।

महानगरलाई पत्र लेख्दै वीर अस्पतालले भनेको छ, ‘यस अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई वहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत रकम साविक वमोजिम(स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनुअघि झै) केन्द्र सरकारको खातामा अन्तरिक राजस्व कार्यालय ठमेलमार्फत ०७९ असार मसान्तसम्मको सम्पूर्ण रकम जम्मा गरिसकेकको र यस आवको साउन १ गतेदेखि प्राप्त हुने रकम ताहाँ कार्यालयमा जन्मा गरिने व्यहोरा अनुरोध छ ।’


क्लिकमान्डु