रोजगारीको खोजीमा दैनिक २५ सय युवा विदेशिँदै, मलेसिया प्रमुख गन्तव्य



काठमाडौं । रोजगारी खोजीको सिलसिलामा दैनिक २५ सय हाराहारीमा विश्वका विभिन्न देशमा नेपाली विदेशिने गरेको पाइएको छ ।

कोरोना महामारीका कारण लामो समय बन्द भएको वैदेशिक रोजगारी कोरोनापछि भने रोजगारीको खोजीमा दैनिक २५ सयभन्दा बढी युवा विदेशिने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।

कोरोनापछि गत वर्ष ४ वर्ष यताकै सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

गत वर्ष नेपालबाट पुनः श्रम स्वीकृतिसहित ६ लाख २८ हजार ५०३ जना विदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

कोरोनाले सुस्ताएको वैदेशिक रोजगारी कोरोनापछि भने विदेशिनेको संख्या ह्वात्तै बढेको विभागले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा दैनिक २५ सयभन्दा बढी नेपाली विदेशिने गरेको विभागले जनाएको छ ।

विभागअनुसार साउन महिनामा मात्रै नेपालबाट ६३ हजार ३९ जना युवा विश्वका ९१ वटा देशमा पुगेका छन् ।

साउन महिनामा नयाँ श्रम स्वीकृतिको संख्या पनि ह्वात्तै बढेको छ । सो महिनामा ४२ हजार ७२९ जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् ।

त्यस्तै, २० हजार ३१० जनाले पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् । विदेशिएका संख्यामध्ये ६ हजार २४२ जना महिला छन् भने ५६ हजार ७९७ जना पुरुष छन् ।

साउन महिनामा विदेशिएकोमा २० हजार ७७२ जना अदक्ष कामदार विदेशिएका छन् ।

जसमा १८ हजार १६२ जना छन् भने २५ सय १० जना महिला छन् । त्यसैगरी, ३८ हजार ७७ जना दक्ष, ४ हजार १९१ जना अर्धदक्ष, प्रोफेसनल ८२ जना र उच्च दक्ष १७ जना युवा विश्वका ९१ देशमा कामको खोजीमा विदेशिएका छन् ।

प्रमुख गन्तव्य मलेसिया

नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसिया रहेको छ । नेपालबाट साउन महिनामा ६३ हजार नेपाली ९१ वटा देशमा पुग्दा मेलेसियामा मात्रै २४ हजार ४८४ जना गएका छन् ।

मलेसियामा २२ हजार ३७५ जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् भने २१ सय ९ जनाले पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।

सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन् ।

बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो । त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण मलेसिया रोजगारीको बाटो पुनः रोकिएको थियो ।

तर, कोरोनापछि मलेसियामा जाने युवाको संख्या ह्वात्तै बढेको विभागको भनाइ छ । मलेसियापछि कतार दोस्रो प्रमुख गन्तव्य बनेको छ ।

साउन महिनामा नेपालबाट कतारमा १२ हजार ५६८ जना युवा विदेशिएका छन् । जसमा ४ हजार ९६९ नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् भने ११ हजार ७०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, साउनमा युएईमा ८ हजार १४० जना, साउदी अरेबियामा ६ हजार ७०५ जना, कुवेतमा ४ हजार २८३ जना, क्रोसियामा ११ सय ८८ जना, बहराइनमा ७०३ जना, इजरायलमा ६०८ जना, रोमनियामा ६५६ जना, जापानमा ५७३ जना, माल्टामा ५५४ जना नेपाली युवा रोजगारीको खोजीमा पुगेका छन् ।

त्यसैगरी, साइप्रसमा ४५८ जना, माल्दिभ्समा २८१ जना, ओमनमा ३९१ जना, पोल्यान्डमा २७१ जना र २२२ जना नेपाली बेलायत पुगेका छन् ।

धनुषाबाट सबैभन्दा बढी युवा विदेशिए

साउन महिनामा सबैभन्दा बढी धनुषा जिल्लाको युवा विदेशिएका छन् । जसमा साउनमा मात्रै धनुषाबाट ३५ सय ४३ जना युवा नयाँ तथा पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।

धनुषापछि झापाबाट ३ हजार ५१ जना, महोत्तरीबाट २८ सय २७ जना, मोरङबाट २६ सय ५१ जना, सिराहाबाट २६ सय २९ जना, सर्लाहीबाट २४ सय, सप्तरीबाट २१ सय ३६ जना र सोलुखुम्बुबाट २ हजार १९ जना युवा विदेशिएका छन् ।

त्यसैगरी, रुपन्देहीबाट १९ सय ३ जना, रौतहटबाट १६ सय ५७ जना, नवलपरासीबाट १९ सय ५१ जना, उदयपुरबाट १ हजार १५ जना, तनहुँबाट ११ सय ४८ जना, स्याङ«जाबाट १ हजार ८९ जना, मकवानपुरबाट १ हजार ९० जना, काभ्रेपलाञ्चोकबाट १ हजार ३१ जना, कपिलवस्तुबाट १३ सय ३८ जना, दाङबाट १४ सय ६३ जना, चितवनबाट ११ सय ५२ जना र बाराबाट १३ सय ४२ जना युवा रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन् ।

६५ हजारले गरे बीमा

विभागको तथ्याङ्कअनुसार साउन महिनामा मात्रै ६५ हजार ४६२ जनाले बीमा गरेका छन् । बीमा गरेकोमा ५९ हजार २४२ जना छन् भने ६ हजार २२० जना छन् ।

जसमा साउन महिनामा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट ४३ सय २८ जना, ज्योति लाइफ इन्स्योरेन्सबाट ११ हजार ८१७ जना, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट ५ हजार ४५० जना, सानिमा लाइफ इन्स्योरेन्सबाट १० जना, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट ३२ हजार ७०६ जना र सूर्य लाइफ इन्स्योरेन्सबाट ११ हजार १५१ जनाले बीमा गरेका छन् ।

३५ हजार विदेशबाट फर्किए

साउन महिनामा ६३ हजार नेपाली विदेशिँदा नेपालमा ३५ हजार ६०५ जना रोजगारी गरेर फर्किएका छन् ।

विभागअनुसार साउन महिनामा ३२ हजार ८०७ जना पुरुष र २७ सय ९८ जना महिला ९५ वटा देशबाट नेपाल फर्किएका हुन् । सो अवधिमा सबैभन्दा बढी कतारबाट फर्किएका छन् । साउन महिनामा कतारबाट मात्रै ११ हजार ४८ जना फर्किएका छन् ।

कतारपछि युएईबाट ८ हजार ४५५ जान, साउदी अरबियाबाट ८ हजार ४० जना, मलेसियाबाट ३ हजार ९७२ जना, कुवेतबाट १४ सय ३० जना, बहराइनबाट ५०४ जना, ओमनबाट ४०६ जना, माल्दिभ्स्बाट २३२ जना, जापानबाट २८८ जना, साइप्रसबाट १२१ जना, जोर्डनबाट १२१ जना र रोमनियाबाट १२७ जना विदेशबाट नेपाल फर्किएका छन् ।


क्लिकमान्डु