चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउने निर्णय, कसलाई कस्तो जिम्मेवारी ?



काठमाडौं । दशैं नजिकिएसँगै सरकारले बजारलाई व्यवस्थित बनाउनका लागि अनुगमनलाई तीब्रता दिने भएको छ ।

भदौ २६ गते मुख्य सचिव शंकरदास बैगारीको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले चाडपर्वमा बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त बजार अनुगमन प्रणाली सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्तिका लागि व्यवस्थापन गर्नका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी तोकेको जनाएको छ ।

उक्त बैठकले अत्यावश्यक उपभोग्य वस्तु व्यवस्थापनको लागि आवश्यकताका आधारमा सुपथ मूल्यमा पसल सञ्चालन गर्ने व्यवस्था उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी तोकेको छ ।

चाडबाडलक्षित बजार अनुगमन कार्यको दायरा र सघनता अभिवृद्धि गर्न आवश्यक पर्ने जनशक्तिको विवरण उद्योग मन्त्रालयले संघीय, मामिला ताथ समान्य प्रशासउन मन्त्राललयलाई उपलब्ध गराउने निर्णय गरेको छ । जसमा संघीय मन्त्रालयले जनशक्तिको व्यवस्थापना गर्ने जिम्मेवारी पाएको छ ।

प्रभावकारी बजार अनुगमनका लागि सूचना संकलन, प्रविधिको प्रयोग र जोखिममा आधारित बनाउने सम्बन्धमा उद्योग मन्त्रालयले मापदण्ड तयार गरी सोही अनुसार अनुगमन प्रणालीको अभिवृद्धि गर्नका लागि जिम्मेवारी तोकेको छ ।

सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी गराई यात्रा व्यवस्थापनलगायतका कार्यहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत् मिलाउने गरी जिम्मेवारी तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश ताथ स्थानीय निकायहरुसमेतको समन्वय र सहकार्यमा डेंगु रोग नियन्त्रण तथा उपचारको प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, अस्पतालहरुमा रहेका डाइलोसिस गर्ने मेसिन र ती मेसिनहरूको उपयोग सम्बन्धमा स्वास्थ्य मन्त्रालयले अनुगमन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी तोकेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडनका लागि नेपाल एयरलाइन्सबाट हुने टिकटको अग्रिम बुकिङ र वितरण प्रणालीबीच सामञ्जस्यता कायम हुने गरी अनलाइन् प्रणालीबाट टिकट बुकिङ तथा बिक्री गर्ने व्यवस्था संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने भएको भएको छ । उक्त क्षेत्रमा आवश्यक जनशक्तिका लागि संघीय मन्त्रालयले अध्ययन गरी थप प्राविधिक जनशक्ति उपलब्ध गराउने जिम्मेवारी दिएको छ ।

आन्तरिक उत्पादनका कृषि तथा खाद्यान्न वस्तुको विषदी परीक्षणका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले मातहतका निकाय परिचालन गरी नियमित परीक्षणको प्रवन्ध गर्ने जिम्मेवारी तोकेको छ ।

त्यस्तै, उद्योग मन्त्रालयले अत्यावश्यक वस्तुको पाक्षिक मूल्यसूची अध्यावधिक गरी प्रोफाइल तयार गर्न मुख्यसचिवले निर्देशन दिएको छ ।


क्लिकमान्डु