रसुवा र तातोपानी नाका दशैंअघि खुलाउन चिनियाँ नेतासँग राष्ट्रिय सभा अध्यक्षको आग्रह



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जन कांग्रेसका अध्यक्ष ली चानशुसँग रसुवा र तातोपानी नाका दशैंअघि खुलाउन आग्रह गरेका छन् ।

सोमबार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका ली चान्शुबीच नयाँ वानेश्वस्थित संघीय संसद भवनमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

कोभिड–१९ को कारण देखाउँदै चीनले दुवै नाका बन्द गरेको छ । तातोपानी नाका भने भूकम्पपछि नै बन्दको अवस्थामा रहेको छ ।

अध्यक्ष तिमिल्सिनाका प्रेसविज्ञ अशोक पौडेलले चिनियाँ जन कांग्रेसका अध्यक्ष लीले त्यसक्रममा दुई देशबीचको रसुवा र तातोपानी नाका छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएको बताए ।

अध्यक्ष तिमिल्सिनाले लीसँग एक चीन नीतिमा नेपालको प्रतिवद्धता जनाएका थिए । तिमिल्सिनाले कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन आग्रह गरेका थिए ।

जसको जवाफमा अध्यक्ष लीले आफू चीन फर्केपछि यस विषयमा पहल गर्ने बताएका थिए ।


क्लिकमान्डु