राष्ट्र बैंकको कर्मचारी विनियमावलीको संशोधन प्रस्ताव अर्थ मन्त्रालयले लोकसेवा पठायो



काठमाडौं । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावली तेस्रोपटक संशोधन हुने भएको छ । राष्ट्र बैंकको व्यवस्थापन समिति र संञ्चालक समितिले स्वीकृत गरी ४ महिनाअघि नै अर्थ मन्त्रालय पठाएको थियो ।

केही दिनअघि मात्रै अर्थ मन्त्रालयले उक्त विनियमावली स्वीकृत गरी लोक सेवा आयोगलाई पठाएको हो ।

‘चार महिनादेखि थन्किएर बसेको राष्ट्र बैंकको कर्मचारी विनियमावलीको तेस्रो संशोधन प्रस्ताव स्वीकृत गरी लोकसेवा आयोग पठाइसकेका छौं,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘लोकसेवाले स्वीकृति दिएपछि मात्रै उक्त विनियमावली कार्यान्वयनमा आउने छ ।’

राष्ट्र बैंकले कर्मचारी युनियनको दवावमा फाइल बढुवाको कोटा बढाउँदै कर्मचारी विनियमावली संशोधन गरेको थियो । स्रोतका अनुसार लोकेवाले उक्त प्रस्तावमाथि अब्जेक्सन जनाएको छ ।

‘पहिलो कुरा, निजामति कर्मचारीको तुलनामा राष्ट्र बैंक पृथक संस्था भएकाले यहाँका कर्मचारीको वृत्तिविकास आफ्नै ढंगले हुनुपर्छ भन्ने मान्यता हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘दोस्रो कुरा, कर्मचारी युनियनका साथीहरुले लामो समयदेखि केही पदहरुमा आन्तरिक बढुवाको माग गर्दै आउनु भएको थियो ।’

त्यस्तै, राष्ट्र बैंकले प्रत्येक वर्षको असार मसान्तमा लोकसेवासँग आगामी वर्षको दरबन्दीको स्वीकृति लिँदै आएको थियो । त्यसलाई परिमार्जन गरी अब प्रत्येक ३ वर्षको असार मसान्तमा एकपटक दरबन्दी स्वीकृत गराउनुपर्ने प्रस्ताव गरिएको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावली २०५८ लाई २०६४ मा पहिलोपटक र २०७४ मा दोस्रो पटक संशोधन गरिएको थियो । अहिले तेस्रोपटक संशोधन गर्न लागिएको हो ।


क्लिकमान्डु