खाद्यान्न व्यापार गर्ने मस्त ग्रुपले एकै वर्ष गर्यो २ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा खाद्यान्नको व्यापार गर्दै आएको मस्त ग्रुपले एकै वर्ष २ अर्ब २ करोड ७० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ५० करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २०२० बाट व्यापार सुरु गरेको कम्पनीले खाद्यान्न सम्बन्धि कारोबार गर्दै आएको छ । कम्पनीले चामल, दाल, पपकर्न, गहुँलगायतका खाद्यान्न आयात तथा प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।

विशेषगरी कम्पनीले तेल र चामल सेग्मेन्टमा बढी व्यापार गर्दै आएको कम्पनीको भनाइ छ । जसमा कम्पनीले राजन ब्रान्डमा तेल र रोयल भोज ब्रान्डमा चामल बिक्री वितरण गर्दै आएको छ ।

जीवनकुमार चौलानी अध्यक्ष, जगत बहादुर धामी र श्याम थापा निर्देशक रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १८ करोड ५० लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ९ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु