चार महिनाभित्रमा सम्पन्न हुने गरी मुड्खु-तीनपिप्ले सडकखण्डको ठेक्का लाग्दै



काठमाडौं । ठेक्का सम्झौता भएको ८ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि सम्झौता रद्द भएको मुड्खु तीनपिप्ले सडकखण्डको नयाँ ठेक्का सम्झौता चार महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी हुने भएको छ । सडकखण्ड निर्माणका योजना प्रमुख गौतम श्रेष्ठकाअनुसार अब निर्माणका लागि हुने ठेक्का सम्झौतामा चार महिनाभित्रै सडक खण्डको निमार्ण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता हुन लागेको हो ।

मुड्खुदेखि तीन पिप्ले सडकखण्ड अन्तर्गतको १७। १० किलोमिटर लम्बाई रहेको यो सडक खण्ड यसअघि ८ वर्षको अवधीमा पनि निर्माण सम्पन्न हुन सकेको थिएन् । ८ वर्षको अवधीमा ७ पटकसम्म म्याद थप भएको ठेक्का सम्झौतामा निर्माण कम्पनी ‘शैलुङ कन्स्ट्रक्सन’ले लापरबाही गरेपछि अन्नतः तोडिएको थियो । त्यसपश्चात भने पुनः नयाँ ठेक्का सम्झौतामार्फत सडकखण्डको निर्माणको ठेक्का सम्झौता हुन लागेको हो ।

योजना प्रमुख गौतम श्रेष्ठकाअनुसार अबको ठेक्का सम्झौता चार महिनाका लागि मात्रै हुनेछ । कुल १७ देखि साढे १७ करोडसम्मको लागत अनुमान गरिएको यो सडकखण्डको निर्माण यसपटक हुनेमा आफू विश्वस्त रहेको बताउँछन् उनी ।

‘यसपटक बोलपत्र आह्वानपछि आएका कम्पनीहरुको प्राविधिक मूल्यांकन हेर्ने काम भएको छ,’ उनले भने, ‘अब सडकको निर्माण चार महिनामा सक्ने गरी ठेक्का सम्झौता हुन्छ ।’

शुक्रबार बालपत्र आह्वानपछि टण्डर भरेका चार कम्पनीहरुले आफ्नो आर्थिक प्रस्ताव दर्ता गरेका छन् । सडकखण्डको निर्माण कसले गर्ने भन्ने विषयमा गौरी पार्वती कन्स्ट्रक्सन, समानान्तर कन्स्ट्रक्सन, देव एण्ड सायर कन्सट्रक्सन र कमलजित एण्ड ड्रागन कन्स्ट्रक्सनबीच प्रतिस्पर्धा हुँदै छ । चार वटै कम्पनीको प्राविधिक प्रस्तावको मूल्यांकनपछि हाल आर्थिक प्रस्ताव पेश भएको योजना प्रमुख श्रेष्ठ बताउँछन् ।

‘अबको तीन देखि चार दिनभित्रमा ठेक्का सम्झौता भएर काम अघि बढ्छ,’ उनी भन्छन्, ‘आर्थिक प्रस्तावको मूल्यांकन पश्चात आइतबार वा सोमबारसम्म सूचना सार्वजनिक गरेर ठेक्का सम्झौता हुन्छ ।’

८ वर्षमा पनि बाटो नबनेपछि नयाँ ठेक्का

आर्थिक वर्ष २०७१र०७२ मा मुड्खु-तीनपिप्ले सडकखण्डको निर्माता तथा मर्मतसम्भारको जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा प्रसाद अधिकारीको कम्पनी शैलुङ कनस्ट्रक्सनले पाएको थियो ।

रानीपौवास्थित मुड्खुबाट तीनपिप्लेसम्मको १७।१० किलोमिटर सडकखण्डको निर्माणका लागि भारतीय निर्माण कम्पनी एआपीएलसहित शैलुङलाई संयुक्त ठेक्का दिइएको थियो । सडक खण्डको ठेक्का संयुक्त रुपमा लागेको भएतापनि सम्पूर्ण निर्माणको काम शैलुङ कन्स्ट्रक्सनले गर्ने जिम्मा पाएको थियो ।

तर, आठ वर्ष बित्दा पनि उक्त सडक बन्न सकेन् । सात पटक सम्म म्याद थप गर्दा पनि सडक नबनेपछि गत असार ८ मा विभागले निर्माण कम्पनीसँग ठेक्का रद्द गर्यो । त्यसपश्चात निर्माण कम्पनीले जिल्ला अदालत ललितपुरमा स्टे अर्डर लिनका लागि मुद्दा दर्ता गरेतापनि साउन ३१ मा भने जिल्ला अदालत ललितपुरका न्यायाधीश सीता शर्माको एकल इजालसले सडक विभागकै पक्षमा निर्णय गर्दै शैलुङ कन्स्ट्रक्सनसँगको ठेक्का रद्द गर्ने आदेश भएको थियो । हाल सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसुचिमा राखेको छ ।

सडकखण्ड निर्माण योजनाका प्रमुख गौतम श्रेष्ठकाअनुसार यसअघि ठेक्का अलपत्र बनाएको शैलुङ कन्स्ट्रक्सनले यसपटक पनि टेण्डर भर्ने तयारी गरेको थियो । उनी भन्छन्, ‘शैलुङले यसपटक पनि टेण्डर भर्ने तयारी रहेछ । तर, सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कम्पनीलाई कालोसुचिमा राखेपछि त्यो हुन पाएन् । अब टेण्डर कम्पनीहरुबाट चार महिनामा सडक बन्नुपर्छ ।’

आठ वर्षसम्म निर्माण कम्पनीको लापरबाहीका कारण बन्न नसकेको सडकको ठेक्का रद्द भएपछि नयाँ ठेक्का खुलेको हो । काठमाडौं उपत्यकाबाट फोहोर लैजाने बाटो अन्तर्गत यो सडकखण्ड पर्ने भएकाले बोलपत्र आह्वान गर्नेदेखि ठेक्का लाग्नेसम्मको प्रक्रिया छोट्याएर नयाँ सम्झौता हुन लागेको हो । ७५ दिन लाग्ने प्रक्रियालाई हाल छोट्याएर १८ दिनमा पुरा गर्न लागिएको हो ।

आयोजना प्रमुख श्रेष्ठकाअनुसार अबको ठेक्का सम्झौतामार्फत भने सडक चार महिनाभित्रमा निर्णय हुनुपर्नेछ । केही समयअघि भौतिक योजना तथा पूर्वाधार मन्त्री मोहम्मद इस्तिहाक राईले पनि अब हुने ठेक्का सम्झौतामा तोकिएको समयभन्दा म्याद थप नहुने बताएका थिए।


क्लिकमान्डु