आक्रामक बन्यो खाना डेलिभरी गर्ने कम्पनी भोज, बिराटनगरको क्विकरफुड गाभ्यो



काठमाडौं । खाना डेलिभरी गर्ने कम्पनी भोजले विराटनगरको स्थानीय फुड डेलिभरी कम्पनी क्विकरफुडलाई (अक्वायर) गाभेको छ ।

भोजले आफ्नो व्यवसायी क्षेत्र विस्तार गर्ने क्रममा विराटनगरमा क्विकरफुडलाई आफूमा गाभेको हो । योसँगै क्विकरफुड अब भोज ब्रान्डमा सञ्चालन हुनेछ ।

‘हामीले विराटनगरको क्विकरफुडलाई अक्वायर गरेका छौं,’ भोजका सहसंस्थापक निकेत अग्रवालले क्लिकमाण्डूसँग भने, ‘अब हामी विराटनगरमा पनि व्यवसाय विस्तार गरेका छौं ।’

नेपालमा एक प्रविधिमा आधारित कम्पनी अर्को कम्पनीलाई पहिलो पटक अक्वायर गरेको भोजको भनाइ छ । काठमाडौं र काठमाडौं बारिहका स्टार्टअपका लागि यो सुखद समाचार भएको कम्पनीको भनाइ छ ।

पाँच वर्षअघि शुरु भएको भोजले हाल काठमाडौं उपत्यका र बुटबल-भैरहवा खाना डेलिभरी गरिरहेको छ । हाल भोजमा ९ सय रेष्टुरेन्ट जोडिएका छन् । यी रेष्टुरेन्टबाट रातको २ बजेसम्म पनि सेवा दिइरहेको भोजले जनाएको छ ।

क्विकरफुडले विगत ३ वर्षदेखि विराटनगरमा खाना डेलिभरी गरिरहेको थियो । क्विकरफुडमा हाल ७५ रेष्टुरेन्ट जोडिएका छन् ।

‘हामीले व्यवसाय विस्तारका लागि भोज जस्तो कम्पनी खोजिरहेका थियौं । जसले छोटो समयमै निकै राम्रो प्रगति गरेको छ,’ क्विकरफुडका संस्थापक दिवस दाहालले भने, ‘अब हामी भोजमा गाभिएका छौं । भोजको प्रविधि, क्षमता, विज्ञताको प्रयोगले विराटनगरमा अझ राम्रो व्यवसाय विस्तार गर्न सक्नेछौं ।’

विराटनगरमा आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाइरहेको बेलामा क्विकरजस्तो सक्षम कम्पनी भेटएको अग्रवालले बताए ।

‘क्विकरको प्रगति र दिवस दाहाल जस्तो जुझारु क्विकरको संस्थापक पाउँदा हामी उत्साहित छौं,’ अग्रवालले भने, ‘हामीले अब विराटनगरमा खाना डेलिभरी र खाद्यान्न डेलिभरीमा थप व्यवसाय विस्तार गर्ने छौं ।’

दाहाल र उनको टिमले विराटनगरमा भोज सञ्चालन गर्ने छन् । विराटनगरसँगै छिट्टै धरान, इटहरी र त्यस क्षेत्रको वरपर व्यवसाय विस्तार गर्ने योजना रहेको अग्रवालले बताए ।


क्लिकमान्डु