सेयर ब्रोकरको पुँजी ३० गुणाले बढ्यो



काठमाडौ । सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधन गरेर ब्रोकरको चुक्ता पुँजी बढाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ स्वीकृत गरेसँगै ब्रोकर कम्पनीको पुँजी ३० गुणासम्मले बढेको छ ।

उक्त नियमावली संशोधन भएसँगै ब्रोकर तीन तहमा विभाजीत भएका छन् । नयाँ व्यवस्था अनुसार अब ब्रोकर कम्पनीको पुँजी २० करोड, ६० करोड र २ अर्ब रुपैयाँ हुनुपर्ने छ ।

धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई तीन तहमा विभाजन गरेर २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषदले उक्त प्रस्ताव संशोधन गरेर ब्रोकरको काम गर्नका लागि न्यूनतम १५ करोड, डिपी सेवा दिन र मार्जिन कारोबार सञ्चालन गर्न न्यूनतम ५० करोड र धितोपत्र व्यापारीको काम गर्नका लागि न्यूनतम १ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
हाल धितोपत्र दलालका लागि २ करोड र धितोपत्र व्यापारीका लागि २० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था रहेको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीमा ब्रोकर कम्पनीलाई फ्रि इन्ट्रि र फ्रि एक्जिटको व्यवस्था गरेको छ । यस्तै नयाँ ब्रोकर कम्पनी खोल्न पनि सहजता दिएको छ ।


क्लिकमान्डु