सुनिता डंगोलको श्वेतपत्रः सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना




काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनप्रतिनिधि निर्वाचित भएर पद वाहल भएको १ सय दिन पुगेको अवसरमा श्वेतपत्र सार्वजनिक गरेकी छन् ।

उपमेयर डंगोलले गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी हुन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।

पूराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाइ भएकोे र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ ।

वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।

उनले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौँवासीसँगसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताएकी छन् ।

उनले फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी छन् ।

‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्,’ उनले जारी गरेको श्वेतपत्रमा भनिएको छ, ‘पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ ।

दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।’
डंगोलले ‘मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो’ भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा आफूले विश्वास नगर्ने भन्दै काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि सबैको साझा सपना हुनुपर्नेमा जोड दिएकी छन् ।

‘यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचित होइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ,’ उनले भनेकी छन्, ‘हामीले १ सय दिनमा के गर्््र्यौ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दा पनि हामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।’

आफू नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भए पनि साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण गरेकी छन् ।

‘हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु,’ उनले भनेकी छन्, ‘म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगत भन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु । हामीले यो १ सय दिनमा ‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केही सकारात्मक कामको थालनी गरी काठमाडौँ महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ । यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन ।’

उनले जस–अपजसका सबै जिम्मेवारी सामूहिक रुपमा लिनुपर्नेमा पनि जोड दिएकी छन् ।

‘काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु, वडाका अध्यक्ष तथा सदस्यहरु, काठमाडौँ महानगरपालिकाका कर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केही नयाँ गरौँ, केही नयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफल हो भन्ने मैले ठानेकी छु । हामी केही सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएका छौँ,’ उहाँले भन्नुभएको छ, ‘तर, यो पूर्ण भने होइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँग चुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमा पुग्नुपर्ने छ । त्यसैले अहिले नै हामी हतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।’

त्यसैगरी उनले बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उदेश्यलाई समावेश गरिएको उल्लेख गरेकी छन् ।

‘बजेट, नीति तथा कार्यक्रमका बारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु,’ उपमेयर डंगोलले भनेकी छन् ।


क्लिकमान्डु