समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा संयोजक र सदस्य माग



काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स प्रालिले व्यवस्थापन तथा सञ्चालनका लागि दुई जनाको आवेदन माग गरेको छ ।

राष्ट्र बैंकले आज सूचना जारी गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक र सदस्य पदमा आवेदन माग गरेको हो ।

राष्ट्र बैंकले इच्छुक योग्य नागरिकले आगामी असोज ९ गते कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न सक्ने जनाएको छ ।

दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अनुभवका कागजात एवम् छनोट समितिले तोकेको अन्य कागजात संलग्न गर्नुपर्नेछ ।

राष्ट्र बैंकले संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नाकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ भएको न्यूनतम योग्यता तथा अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । सो पदका लागि राष्ट्र बैंकले १ लाख २६ हजार ३ सय रुपैयाँ मासिक पारिश्रमिक तथा अन्य सुविधाहरू तोकेको छ ।

त्यसैगरी, सदस्य पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक हासिल गरेको लेखा सम्बन्धी कार्यमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टर्ड एकाउण्टेन्सी पास गरी न्यूनतम ५ वर्षको कार्यानुभव प्राप्त गरेको लेखा विज्ञ भएको हुनुपर्ने जनाएको छ ।

सदस्यका लागि १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक तथा अन्य सुविधाहरू हुने सूचनामा उल्लेख छ । साथै, दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ ।

माग गरिएको पदको समय अवधि १ वर्ष हुनेछ । जसमा आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने सूचनामा जनाइएको छ ।


क्लिकमान्डु