असोजदेखि शुक्रबार सेयर कारोबार नहुने



काठमाडौं । असोज पहिलो सातादेखि शुक्रबार सेयर कारोबार नहुने भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालक समितिको बैठकले असोज पहिलो सातादेखि शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

गत जेठ ६ गतेदेखि नेप्सेले बिना कुनै आधार हचुवाको भरमा शुक्रबार पनि सेयर कारोबार शुरु गरेको थियो । सरकारले जेठ १ गतेदेखि शनिबारसहित आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै आइतबार हुने कारोबारलाई पूर्ती गर्नका लागि शुक्रबार पनि कारोबार शुरु गरिएको थियो ।

हाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता गरिसकेको छ । यद्यपि शुक्रबार भने सेयर कारोबार भइरहेको थियो ।

‘तत्कालीन समयमा धितोपत्र बोर्डले मौखिक रुपमा शुक्रबार कारोबारका लागि निर्देशन दिएको थियो,’ बोर्ड स्रोतले भन्यो, ‘अहिले पनि बोर्डले शुक्रबारको कारोबार बन्द गर्नका लागि मौखिक निर्देशननै दिएको छ ।’

तत्कालिन समयमा केही लगानीकर्ताहरुले शुक्रबार कारोबार खुला हुनुपर्छ भनेका थिए भने केहीले विरोध गरेका छन् ।

अहिले लगानीकर्ताको माग, बोर्डको आग्रह, अन्तर्राष्ट्रिय अभ्यास र शुक्रबार पनि कारोबार गर्दा सेयर बजारसँग सम्बन्धित कुनै काम गर्न समय नमिलेका कारण कारोबार बन्द गर्न लागिएको नेप्सेका एक अधिकारीले जानकारी दिए ।


क्लिकमान्डु