गौतमबुद्ध रंगशालाको निर्माण तत्कालै सुरु नहुने, ऋणमार्फत् भएको खर्च विवरणसँग मिलेन मूल्यांकन



काठमाडौं । चितवस्थित भरतपुर महानगरपालिकाकाको १६ नम्बर वडामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अनिश्चित भएको छ ।

हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को संस्था ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले निर्माण सुरु गरेको उक्त रंगशालाको निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारले बजेट छुट्याएको भए पनि तत्कालै काम भने सुचारु नहुने भएको छ ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीकाअनुसार रंगशालाको निर्माणको कामबाट पछि हटेको फाउण्डेसनले महानगरपालिकालाई बुझाएको तीर्न बाँकी खर्च विवरणसँग निर्माणाधीन रंगशालामा भएको प्रगति विवरण र प्राविधिक मूल्यांकनले मेल नखाँदा तत्कालै काम सुचारु नहुने भएको हो ।

गत पुसमा महानगरको स्वामित्वमा आएको रंगशाला निर्माणको कामका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले केन्द्रीय बजेटबाट २२ करोड र प्रदेश सरकारले ५ करोड बजेट छुट्याएको छ ।

भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्वमा रंगशाला आएसँगै निर्माणका लागि संघीय सरकारसँग समन्वय गरेर काम सुचारु गर्न खोजेको अधिकारी बताउँछन् । तर, फाउण्डेसनले महानगरलाई रंगशाला हस्तान्तरण गर्दा तिर्न बाँकी भनेको ऋणसँग निर्माणाधीन रंगशालाको प्रगति विवरण मेल नखाएकाले तत्कालै काम सुरु हुने अवस्था नभएको उनले बताए ।

‘फाउण्डेसनले कहिले २१ करोड त कहिले १८ करोडको खर्च पठाउनु भएको छ,’ अधिकारी भन्छन्, ‘तर, उहाँहरुले गर्नु भएको बिल भरपाई र मागअनुसारको रकमसँग प्रगति विवरण र प्राविधिक मूल्यांकनले मेल खाएको छैन । मैले थाहा पाएसम्म प्राविधिक रिपोर्टमा ११ देखि १२ करोडको मात्रै काम देखिएको छ ।’

गतवर्ष पुसमा महानगर मातहतमा रंगशाला आएसँगै रंगशालाको बाँकी काम सक्ने जिम्मा संघीय सरकारको स्वामित्वमा पुगेको थियो । उक्त प्रक्रियाअनुसार महानगरले रंगशाला संघीय सरकारको स्वामित्वमा हस्तान्तरण गर्नका लागि रंगशाला निर्माणको क्रममा लागेको खर्चअन्तर्गतको ऋणको विवरण सरकारलाई पठाएको छ । तर, प्रगति विवरण तथा प्राविधिक मूल्यांकन भएको खर्चअनुसार नहुँदा तत्काललाई काम सुरु हुने अवस्था नभएको अधिकारी बताउँछन् ।

‘फाउण्डेसनले ऋणको बारेमा पेस गरेको विवरण नमिलेकाले पुनः नयाँ विवरण पठाउनू भन्ने कुरा भएको छ,’ अधिकारी भन्छन्, ‘खर्च बुझाउने कुरा मौखिक मागेर भएन । अधिकारिकरुपमा माग्नु पर्ने हुन्छ । त्यहाँको निर्माणाधीन अवस्थामा लाग्ने खर्च एउटा पाटो हो । तर, प्राविधिक रिपोर्टमार्फत् तत्कालीन अवस्थाको मूल्यांकन गर्दा त्यो खर्च विवरणसँग म्याच खानुपर्ने हुन्छ । उहाँहरुले खर्चको बिल एउटा देखाउनु भएको छ। तर, त्यो खर्चको विवरणअनुसार प्रगति विवरण र मूल्यांकनको रिपोर्ट म्याच खाएन ।’

अधिकारीकाअनुसार फाउण्डेसनले हालसम्म समय समयमा पठाएको ऋणको विवरणमा कहिले २१ करोड त कहिले १८ करोड खर्च भएको विवरण पेस गरिएको छ । तर, सरकारी मूल्यांकनमा भने सो रकमअनुसारको प्रगति नभएको प्राविधिक रिपोर्टमा देखिएको अधिकारी बताउँछन् ।

‘उहाँहरुले गर्नुभएको माग र बिल भरपाईको रकम भने १८-१९ करोडको छ । मूल्यांकन र प्राविधिक रिपोर्टमा भएको मूल्यांकनबीच ७ देखि ८ करोडसम्मको फरक छ । अहिले महानगरले उहाँहरुलाई आफ्नो खर्च विवरण पुनः पठाउन भनेको छ ।’ उनले भने ।

धुर्मुस सुन्तली फाउण्डेसनले २०७५ मा निर्माण सुरु गरेको उक्त रंगशालाको काम सम्पन्न गर्न आर्थिक स्रोतको अभाव भएपछि २०७८ पुसमा उनीहरु यो कामबाट पछि हटेका थिए । फाउण्डेसनले दाबी गरेअनुसार ३५ प्रतिशत काम सकिएको बेला उनीहरु रंगशाला निर्माणको कामबाट पछि हटेका थिए । सो अवधिसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भएको दाबी उनीहरुको थियो ।

रंगशाला निर्माणको कामबाट पछि हट्दा महानगरलाई लेखेको पत्रमा फाउण्डेसनले निर्माण सम्पन्न भएको ३५ प्रतिशत कामका लागि सो रकम खर्च भएको हो । जसमध्ये १६ करोड रुपैयाँ ऋण रहेको गत पुसमा महानगरलाई रंगशाला निर्माणको काम हस्तान्तरण गर्दा फाउण्डेसनले लेखेको पत्रमा भनिएको थियो ।


क्लिकमान्डु