एक वर्षमा काठमाडौं उपत्यकामा १ लाख घरजग्गा किनबेच



काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्रै १ लाखवटा घरजग्गा किनबेच भएको छ । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा बसाइँ-सराइ बढ्दो क्रममा छ । उपत्यकामा मात्रै नभएर नेपालका अधिकांश सहरहरूमा बसाइँ-सराइ बढ्दो छ । जसले गर्दा सहर केन्द्रित क्षेत्रहरूमा घरजग्गा कारोबार उच्च भइरहेको सरकारी तथ्याङ्क छ ।

त्यस्तै, देशभर कारोबार भएको घरजग्गामध्ये सबैभन्दा बढी कारोबार हुने काठमाडौं उपत्यका हो ।

उपत्यकाका ३ जिल्लामा ९ वटा मालपोत कार्यालय छन् । काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुर १ मालपोत कार्यालय छन् । विगतमा ८० हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको उपत्यकामा गत वर्ष करिब १ लाख घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्अनुसार गत वर्ष देशभरका मालपोत कार्यालयबाट साढे ७ लाख घरजग्गा किनबेच हुँदा उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट ९८ हजार ७०८ घरजग्गा किनबेच भएका छन् । विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर ३ लाख ९६ हजार घरजग्गा किनबेच भएकोमा उपत्यकामा ७५ हजार १४७ घरजग्गाको किनबेच भएको थियो ।

त्यस्तै, आव २०७६/७७ मा ५ लाख ६९ हजार घरजग्गा किनबेच हुँदा उपत्यकामा ८० हजार ६ सय ४८ र २०७७/७८ मा देशभर ६ लाख बढी घरजग्गा किनबेच हुँदा ७८ हजार ५ सय ५४ घरजग्गाको किनबेच भएको थियो ।

गत वर्ष उपत्यकाको काठामाडौं, ललितपुर र भक्तपुरमा ९ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी लगनखेलबाट घर जग्गा किनबेच भएको छ । ललितपुरबाट मात्रै गत वर्ष २३ हजार ७८ घरजग्गाको किनबेच भएको छ ।

त्यसैगरी, भक्तपुरबाट २२ हजार ८९८ वटा, कलंकीबाट १८ हजार ७६१ वटा, साँखुबाट १२ हजार १३४ वटा, डिल्लीबजारबाट ४२ सय ५ वटा, मनमैजुबाट ४१ सय, टोखाबाट ३६ सय १६ वटा र गोटीखेलबाट ३६५ वटा घरजग्गा किनबेच भएको छ ।

विभागको तथ्याङ्कले पनि उपत्यकामा घरजग्गा खरिदमा बढ्दो आकर्षण रहेको देखाउँछ । बढ्दो घरजग्गा खरिदले गर्दा नै उपत्यकामा जग्गाको मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ । तर, पनि कारोबार भने घट्न सकेको छैन ।

बढ्दो मूल्यको प्रभाव राजस्वमा

काठमाडौं उपत्यकामा घरजग्गाको मूल्य अत्यधिक बढ्दा यसको प्रत्यक्ष प्रभाव राजस्वमा देखिएको छ । देशभर घरजग्गा कारोबारबाट संकलन राजस्वमध्ये करिब ५० प्रतिशत हिस्सा उपत्यकाको छ । उपत्यकामा घरजग्गाको मूल्य उच्च भएकाले कम घरजग्गा कारोबार हुँदासमेत देशभरबाट संकलन भएको राजस्वमध्ये ४३.२० प्रतिशत हिस्सा उपत्यकाको छ । विभागअनुसार उपत्यकामा घरजग्गाको मूल्य उच्च बढ्दा यसको प्रत्यक्ष असर राजस्व संकलनमा देखिएको छ ।

देशभरको मालपोत कार्यालयबाट ७६ अर्ब राजस्व संकलन हुँदा उपत्यकाको हिस्सा मात्रै ४३.२० प्रतिशत छ । उपत्यकाका तीन जिल्लामा रहेको ९ वटा मालपोत कार्यालयबाट १ लाखको हाराहारीमा घरजग्गा किनबेच हुँदा ३३ अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी राजस्व संकलन गरेको लगनखेलले मात्रै गत वर्ष ७ अर्ब ४५ करोड २४ लाख ८७ हजार, भक्तपुरबाट ५ अर्ब ९२ करोड ६६ लाख ९७ हजार, डिल्लीबजारबाट ५ अर्ब ३६ करोड ५७ लाख ५९ हजार, कलंकीबाट ५ अर्ब २९ करोड २६ लाख १७ हजार, चावहिलबाट ४ अर्ब ३० करोड ३० लाख, साँखुबाट १ अर्ब ७८ करोड ४४ लाख ४२ हजार, मनमैजुबाट १ अर्ब ७० करोड ६८ लाख ३३ हजार, टोखाबाट १ अर्ब २५ करोड ७४ लाख १४ हजार र गोटीखेलबाट १ करोड ८६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, आव २०७५/७६ उपत्यकाबाट १७ अर्ब १० करोड ४० लाख रुपैयाँ, २०७६/७७ मा १४ अर्ब ४९ करोड २२ लाख र २०७७/०७८ मा देशभर ५७ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन हुँदा उपत्यकाबाट २२ अर्ब २८ करोड ३५ लाख रुपैयाँ संकलन गरेको थियो ।

६३ हजार जग्गा कित्ताकाट

उपत्यकामा बढ्दो घरजग्गा कारोबारले कित्ताकाट पनि उच्च भइरहेको छ । अहिले उपत्यकाका तीन वटा जिल्लामा अनाधिकृत रुपमा विभिन्न क्षेत्रमा कित्ताकाट भइरहेको छ ।

गत वर्ष देशभर ६ लाख ९४ हजार २१३ घरजग्गा कित्ताकाट भई १६ लाख १२ हजार १३५ कित्ता कायम भएकोमा उपत्यकामा मात्रै ६३ हजार ४२७ जग्गाको कित्ताकाट भएको छ । उक्त खण्डीकरण भएको जग्गाको १ लाख ६७ हजार ९०५ कित्ता कायम भएको छ ।

गत वर्ष उपत्यकामा सबैभन्दा बढी लगनखेल मालपोतको क्षेत्राधिकारमा कित्ताकाट भएको छ । ललितपुरमा मात्रै १७ हजार जग्गा कित्ताकाट भई ४९ हजार ४५७ कित्ता कायम भएको छ ।

त्यसैगरी, भक्तपुरमा १३ हजार जग्गाको ३३ हजार कित्ता, कलंकीमा ११ हजार जग्गाको २८ हजार कित्ता, साँखुमा ७ हजार जग्गाको २० हजार कित्ता, मनमैजुमा ३४ सय जग्गाको ११ हजार कित्ता, चावहिलमा ६५ सय जग्गाको १४ हजार कित्ता, टोखामा २१ सय जग्गाको ५७ सय कित्ता, डिल्लीबजारमा १८ सय जग्गाको ३८ सय कित्ता र गोटीखेल ललितपुरमा २५५ जग्गाको ६०६ कित्ता कायम भएको छ ।


क्लिकमान्डु