इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप लागेका आलम कांग्रेसको उम्मेदवार सिफारिस



काठमाडौं । इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थुनामा रहेका मोहम्मद अफताव आलम नेपाली कांग्रेसका उम्मेदवार सिफारिस भएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसको रौतहट निर्वाचन क्षेत्र नम्बर –२ समितिले आलमलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । समितिले उक्त निर्वाचन क्षेत्रका लागि आलमको मात्रै नाम सिफारिस गरेको छ ।

आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर राजपुर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै जलाएको आरोप लागेसँगै उनी निलम्बनमा परेका थिए ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनका बेला रौतहटका राजपुरमा भएको बम विष्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो । आलमले बनाउन लगाएको बम विष्फोट हुँदा मृत्यु भएका र घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गर्न लगाइएको आरोप उनीमाथि लागेको छ ।


क्लिकमान्डु