त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द



काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शुक्रबार) आधा घण्टा बन्द हुने भएको छ ।

प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ शुक्रबार अपरान्ह साढे ४ बजेदेखि ५ सम्म हुने भएकाले आधा घन्टा विमानस्थल बन्द गर्न लागेको विमानस्थल कार्यलयले जानकारी दिएको छ ।

अभ्यासका कारण विमानस्थलमा आधा घन्टा उडान प्रभावित हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज गर्न लागेका लागि आज (शुक्रबार) आधा घण्टा उडान बन्द हुने जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस खालको अभ्यास गर्नुपर्ने हुन्छ । एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिनेछ ।

एयरबस-३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रण गर्नेको अभ्यास गर्ने विमानस्थलको तयारी छ ।


पुष्प दुलाल