नेपालबाट २ खर्ब मूल्य बराबरको वस्तु निर्यात हुँदा साढे १ खर्ब भारतमा मात्रै, कुन वस्तु कति निर्यात ?



काठमाडौं । नेपालले गत आर्थिक वर्ष निर्यात मूल्यमा इतिहास कायम गरेको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्ष नेपालबाट २ खर्ब ३ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ ।

गत वर्ष २ खर्ब मूल्य बराबरको वस्तु निर्यात भएकोबाट नेपाल पूर्ण रुपमा भारतमा निर्भर रहेको तथ्याङ्कले उल्लेख गर्दछ । जसमा नेपालको निर्यात हिस्सा भारतले मात्रै ७७.५९ प्रतिशत ओगटेको छ ।

नेपालले गत वर्ष २ खर्ब मूल्य बराबरको वस्तु निर्यात गर्दा भारततर्फ मात्रै १ खर्ब ५५ अर्ब २२ करोड २३ लाख रुपैयाँ निर्यात भएको छ । नेपालले विश्वका १७१ वटा देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । सो अवधिमा नेपालले १३१ वटा देशमा मात्रै निर्यात गरेको छ । जसमा ४० वटा देशमा नेपालबाट कुनै पनि वस्तु निर्यात भएको थिएन ।

तर, नेपालले १७१ देशसँग वैदेशिक व्यापार गर्दा दुई तिहाइ निर्यात भारतमा हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । जसमा भारतबाहेक अन्य १३० देशमा नेपालले ४५ अर्ब रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ ।

वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारतले चालु आर्थिक वर्षको पहिलो महिनामा पनि निर्यातको हिस्सा ७२ प्रतिशतले ओगटेको छ । चालु आवको साउन महिनमा नेपालबाट १४ अर्ब ८० करोड ९७ लाख मूल्य बराबरको वस्तु निर्यात हुँदा १० अर्ब ७१ करोड ४९ लाख मूल्य बराबरको वस्तु भारतमा निर्यात गरेको छ । साथै, सो अवधिमा नेपालले १ खर्ब ३१ अर्बको आयात गर्दा भारतबाट मात्रै ७८ अर्ब ६५ करोड ५६ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

गत वर्ष कुन वस्तु कति निर्यात ?

गत वर्ष नेपालले भारतमा सबैभन्दा बढी भटमासको तेल निर्यात गरेको छ । नेपालले सो अवधिमा ४८ अर्ब १२ करोड रुपैयाँको भटमासको तेल निर्यात गरेको छ । त्यस्तै, ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँको पाम तेल, ७ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको जुटको वस्तु, ६ अर्ब ७ करोड ४८ लाख रुपैयाँको जुस, ७ अर्ब ५२ करोड ३६ लाख रुपैयाँको पलिस्टर धागो र ४ अर्ब ७७ करोड ९० लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।

त्यसैगरी, नेपालले १ अर्ब २७ करोड ९१ लाख रुपैयाँको आयुर्वेदिक औषधि, १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको चाउचाउ, ३ अर्ब ४९ करोड २२ लाख रुपैयाँको ओयल केक, १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँको रोजिन, १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ जुत्ता तथा चप्पल, ३ अर्ब ५५ लाख रुपैयाँको चिया, ३ अर्ब २७ करोड ७९ लाख रुपैयाँको टेक्स्टायल, १ अर्ब ९९ करोड २४ लाख रुपैयाँको धागो, २ अर्ब ८४ करोड १७ लाख रुपैयाँको जिन्क सिट र १४ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको अन्य विभिन्न वस्तु निर्यात गरेको छ ।

त्यस्तै, २५ करोड १४ लाख रुपैयाँको गाइवस्तुको दाना, ६१ करोड रुपैयाँको ब्रान्स, १५ करोड २१ लाख रुपैयाँको दालाचीनी, ४३ करोड ६२ लाख रुपैयाँको कपर वायर रड, ४६ करोड ५४ लाख रुपैयाँको अदुवा, ९७ करोड १९ लाख रुपैयाँको जडीबुडी, ८४ करोड ४६ लाख रुपैयाँको मन्जन र अन्य विभिन्न वस्तु गरी १ खर्ब ५५ अर्ब मूल्य बराबरको वस्तु भारतमा निर्यात भएको छ ।


क्लिकमान्डु