माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन भएका छन् ।

शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भए ।

महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल र मात्रृका यादव चयन हुनु भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाँण्डे, डिलाराम आचार्य र राम कार्की सचिवमा चयन भए ।

कोषाध्यक्षमा श्रीराम ढकाल चयन भए । विशेष महाधिवेशन छिट्टै गर्ने र त्यसअघिसम्मका लागि पदाधिकारीहरुको चयन गरिएको पार्टीका उपाध्यक्ष महराले बताए ।

बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणा पत्र मस्यौंदा समिति समेत बनाएको छ । जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा छन् ।

माओवादी केन्द्रले चुनावलाई लक्षित गरी प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमको मिति पनि तय गरेको छ । जस अनुसार भाद्र ८ गते मधेश प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ । ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश १, ११ गते लुम्विनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा चुनावीलाई लक्षित गरी बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ ।
बैठकले पार्टीमा आवद्ध विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय समेत गरेको माओवादी केन्द्रले जनाएको छ ।


क्लिकमान्डु