बर्ड फ्लूका कारण क्षति व्यहोरेका किसानलाई सरकारले ७५% राहत दिने 



काठमाडौं । सरकारले बर्ड फ्लूका कारण नोक्सान क्षति व्यहोरेका किसानलाई ७५ प्रतिशत रकम राहतको व्यवस्था गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहत दिने मापदण्ड, २०७९ जारी गर्दै निर्धारित दररेटका आधारमा क्षतिको रकम निर्धारण गरी सोको ७५ प्रतिशत रकम राहत उपलब्ध गराइने जनाएको  छ । 

तर नियामावमलीको नियम ११ को उपनियम (६) बमोजिम नष्ट गरिएका सामग्रीहरूको हकमा कुनै राहत उपलब्ध नहुने राजपत्रमा उल्लेख छ । 

राहतका लागि सम्बन्धित धनीले नष्ट गरेको मितिले ३० दिनभित्र प्रमाण कागजातसहित कार्यालयमा निवेदन दिनुपर्नेछ ।

सरकारले दररेट निर्धारण गर्दा पन्छीको उमेर समूह खुलाई छुट्टा–छुट्टै मूल्य निर्धारण गर्नुपर्ने जनाएको छ ।   

मन्त्रालयका अनुसार प्यारेन्ट तथा ग्रयाण्ड प्यारेन्ट स्टकः ब्रोइलर, लेयर्स, क्रोइलर, हाँस तथा अन्य पन्छी, व्यावसायिक रुपमा पालिएका पन्छी:  ब्रोइलर, लेयर्स, क्रोइलर, बट्टाई, हाँस तथा अन्य पन्छी, जात नखुल्ने स्थानीय पन्छी: कुखुरा, हाँस तथा अन्य घरपालुवा पन्छी र अण्डा, पन्छीको दाना, पन्छीको मासु आदिको छुट्टा–छुट्टै दररेट निर्धारण गर्नुपर्ने जनाएको छ । 

दररेट निर्धारण समितिले प्रत्येक वर्षको साउन महिनाभित्र प्रचलित बजार मूल्यको आधारमा चालु आर्थिक वर्षको लागि मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । 

मन्त्रालयले प्राप्त निवेदनको आधारमा स्वीकृत कार्यक्रममा बजेट व्यवस्था भए बमोजिम प्रदेश सरकार वा मातहत र विभागको समन्वयमा दोहोरो नपर्ने गरी राहत उपलब्ध गराइनेछ । 


क्लिकमान्डु