नेपाल-चीन केबुलमार्ग जोड्न आइपी सेवा उपलब्ध गराउने सम्झौता



nepal-china-flag1

काठमाडौं । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्गबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले हङकङमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

केही समयअघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । मंगलबार यस्तो सम्झौता भएको हो ।

यो सम्झौतासँगै  चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक इन्टरनेशनल कनेक्टिभीटीका लागि लागि यो अर्को महत्वपूर्ण विकल्प हो । अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो ।

नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ । उक्त सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले, नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरे ।

उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरे ।

त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


क्लिकमान्डु