मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन: अर्थतन्त्र समस्यामा छ, आत्मनिर्भर बनाउने काम गर्नु



 ऊर्जा खपत गर्ने उद्योग स्थापनामा जोड दिन, खाद्यान्न, फलफूल आयात नगर्ने वातावरण बनाउन निर्देशन 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको बजेटले लिएको आयात प्रतिस्थापन गर्दै जाने र निर्यात प्रवर्द्धन गर्ने काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमा रहेको भन्दै आयात प्रतिस्थापन नगर्दासम्म अर्थतन्त्र सुधार नहुने बताए ।

‘आयातमा आधारित अर्थतन्त्र बनाउँदा अर्थतन्त्रमा समस्या देखियो ।अब पनि पुरानै तरिकाले काम गरेर हुँदैन,’ प्रधानमन्त्री देउवाले भने,‘आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी बजेट निर्माण भएको छ । बजेटले निर्धारण गरेका लक्ष्य पुरा गर्न अहिले देखि कार्ययोजना बनाएर काम गर्नु होस् ।’

प्रधानमन्त्री कार्यालयमा भएको बैठक दिउँसो ३ बजे देखि बेलुका साढे ६ बजे सम्म चलेको थियो । बैठकमा नेपाल सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्य सचिव, सचिवको उपस्थिति थियो ।

२७ बुँदामा लिखित निर्देशन दिएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनामा लक्ष्य अनुसार प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

देउवाले विकासे मन्त्रालयका मन्त्री र सचिवलाई राष्ट्रिय गौरवका योजनाको प्रगति बढाउन निर्देशन दिए । कार्यक्रम गत आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्नुका कारण र आगामी आर्थिक वर्षको बजेट कसरी कार्यान्वयन विषयमा छलफल भएको थियो ।

हरेक वर्ष आर्थिक वर्ष सुरु भए लगत्तै प्रधानमन्त्रीले मन्त्री र सचिवलाई बजेट कार्यान्वयन गर्न निर्देशन दिने परम्परा छ । यस्तै, पुसमा बजेट कार्यान्वयनको अवस्थाका विषयमा समेत यस्तै उच्च स्तरीय बैठक हुने गर्छ ।

प्रधानमन्त्री देउवाले टेबल–टेबलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिन निर्देशन दिएका थिए । कानुनले सुविधा दिएका बाहेकका कर्मचारीलाई सवारी साधन र इन्धन तत्काल बन्द समेत प्रधानमन्त्री देउवाको निर्देशन छ ।

हाल उप सचिव तहका कर्मचारीलाई कानुनले गाडी र इन्धन सुविधा नदिएपनि सिंहदरबार भित्रका सबै उपसचिवले गाडी र इन्धन सुविधा लिने गर्छन् ।

प्रधानमन्त्रीले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिए । विद्युत् खपत बढाउने, निर्यातलाई प्रवर्द्धन गर्ने लगायतका कामहरु सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ ।


क्लिकमान्डु